Logo

अन्तर्राष्ट्रिय

अस्ट्रेलियाले राजदूत निष्कासन गरेपछि इरानले भन्यो: जवाफी कारबाही गर्छौं



काठमाडौं । अस्ट्रेलियाले आफ्नो देशको राजदूत निष्कासन गर्ने निर्णय गरेपछि प्रतिक्रियामा इरानले पारस्परिक र जवाफी कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।

अस्ट्रेलियामा भएका यहुदीविरोधी आक्रमणको पछाडि हात रहेको आरोपमा उसले इरानका राजदूतलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।

जवाफमा मंगलबार इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अस्ट्रेलियाको आरोपलाई पूर्णरूपमा अस्वीकार गरेका छन् ।

उनले कूटनीतिक तहमा हुने कुनै पनि अनुचित र अकारण कारबाहीको पारस्परिक प्रतिक्रिया हुने चेतावनी दिएका छन् ।

बघाईले अस्ट्रेलियाको कदम गाजामा इजरायलको युद्धविरुद्ध देशव्यापीरूपमा भएको विरोध प्रदर्शनबाट प्रभावित भएको देखिएको बताएका छन् ।

“यो कारबाही अस्ट्रेलियाले इजरायलमाथि गरेको सीमित आलोचनालाई क्षतिपूर्ति दिनका लागि गरिएको जस्तो देखिन्छ,” उनले भनेका छन् ।

अस्ट्रेलियाको आरोप र आक्रमणका घटना

यसअघि, मंगलबार नै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गत अक्टोबरमा सिड्नीको एक क्याफेमा र डिसेम्बरमा मेलबर्नको एक सिनागगमा भएको आगजनीको पछाडि इरानको हात रहेको बताएका थिए ।

दुवै आक्रमणमा कुनै मानवीय क्षति नभए पनि सम्पत्तिमा व्यापक क्षति पुगेको थियो । अल्जजिराले इरानले अस्ट्रेलियाको यस कदमलाई विगतका वर्षमा अस्ट्रेलियाले गरेको सत्रुतापूर्ण कार्यको निरन्तरताको रूपमा हेरेको बताएका छन् ।

इजरायली क्षेत्रमा इरानको प्रतिशोधात्मक आक्रमणपछि सन् २०२४ मा अस्ट्रेलियाले इरानमाथि धेरै प्रतिबन्ध लगाएको थियो । तेहरानले पछिल्लो कदमलाई अस्ट्रेलियाले इजरायलको पक्ष लिएको अर्को संकेतको रूपमा हेरेको बताइएको छ ।

अल्जजिराबाट ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार २१:४१   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।