Logo

गण्डकी प्रदेश

प्रचण्डले भारतबाट ल्याइएको मुर्रा राँगो पोखरामा भ्यागुते रोगले मर्‍यो



पोखरा । भारत सरकारले नेपाललाई उपहारमा दिएको मुर्रा राँगो पोखरामा मरेको छ ।

२१ महिनाअघि ल्याइएका २१ राँगामध्ये ७ वटा पोखरामा राखिएको थियो । त्यसमध्ये एउटा राँगो साउन ३० गते भ्यागुते रोगका कारण मरेको पशु प्रजनन कार्यालय पोखराले जनाएको छ ।

‘रोहित नामको राँगो भ्यागुते रोगका कारण उपचारमा थियो । उपचारकै क्रममा मरेको हो,’ कार्यालयका सूचना अधिकारी डा. महेन्द्र मल्ले भने । साउन १७ गतेदेखि उक्त राँगो बिरामी अवस्थामा रहेको मल्लले जानकारी दिए ।

राँगोमा सङ्क्रमण देखेपछि तुरुन्तै क्वारेन्टिनमा राखिएको र अन्यमा नसरेको उनको दाबी छ । रोहितलाई वीर्य उत्पादनका लागि प्रयोग गरिएको थियो ।

‘करिब ३ हजार डोज वीर्य सङ्कलन गरी स्टक राखिएको छ,’ उनले भने, ‘अब नियमित रूपमा वीर्य उपलब्ध गराउने प्रक्रियामा समस्या परेको छ ।’

पोखरा ल्याइएका सातमध्ये दुई वटा राँगाबाट गत वर्षदेखि वीर्य सङ्कलन सुरु गरिएको थियो । बाँकी पाँच मुर्रा तालिम र अनुकूलन प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । राँगोको पोष्टमार्टमपछि अन्त्यष्टी गरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार २१:५१   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।