Logo

अन्तर्राष्ट्रिय

ट्रम्पको ५० प्रतिशत करले भारतमा ठूलो असर नपर्ने



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ५० प्रतिशत ट्यारिफ (भन्सार शुल्क)ले ठूलो प्रभाव नपर्ने भारत सरकारले बताएको छ ।

सरकारी स्रोतहरूले ट्रम्पले लगाएको ५० प्रतिशत करको असर आशंका गरिएको जति गम्भीर नहुने सम्भावना रहेको बुधबार भारतको सरकारी न्युज एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) लाई बताएका छन् ।

स्रोतहरूले भने, “भारतीय निर्यातको विविध प्रकृतिलाई हेर्दा ट्यारिफको प्रभाव त्यति गम्भीर हुने सम्भावना छैन जति आशंका गरिएको छ ।”

उनीहरूले यो मुद्दा समाधान गर्न भारत र अमेरिकाबीच संचार माध्यमहरू खुला छन् । स्रोतहरूले निर्यातकहरूको मुद्दामा आत्तिनुपर्ने कुनै कारण नभएको बताए ।

अमेरिकाले नयाँ दिल्लीमाथि आफ्नो पछिल्लो ट्यारिफ औपचारिक रूपमा लागु गरेपछि यस्तो प्रतिक्रिया आएको हो ।

अमेरिकाले भारतबाट आउने प्रमुख वस्तुहरूमा यसअघि २५ प्रतिशत भन्सार शुल्क लगाएकोमा अगस्ट २७ देखि थप २५ प्रतिशत लगाएर ५० प्रतिशत बनाएको छ ।

यो कर भारतले रुसी कच्चा तेल र रक्षा उपकरणको निरन्तर आयात गरिरहेको विषयसँग जोडिएको छ ।

भारतीय निर्यातकर्ताहरूले भने आफ्नो व्यवसायमा ठूलो नोक्सानीको डर व्यक्त गरेका छन् । उनीहरूले यसलाई आफ्नो व्यवसायिक जीवनको सबैभन्दा ठूलो झट्काको रूपमा वर्णन गरेका छन् ।

भारतीय सरकारले निर्यातकर्ताहरूलाई सहयोग गर्न विश्वव्यापी आपूर्ति श्रृंखलासँग जोड्ने र अमेरिकी खरिदकर्ताहरूसँग कसरी यो घाटा कम गर्न सकिन्छ भन्ने बारेमा जानकारी लिने प्रयास गरिरहेको बताइएको छ ।

सरकारले भारतका लागि नयाँ व्यापार र वाणिज्यका मार्गहरू खोल्न धेरै स्वतन्त्र व्यापार सम्झौताहरू लागु गरिसकेको बताएको छ । केही अन्य सम्झौताहरू प्रक्रियामा छन् ।

भारतको सरकारी परिषद् सेप्टेम्बर ३ र ४ मा बस्ने तयारीमा छ, जसको मुख्य एजेन्डा विभिन्न वस्तु र सेवाहरूमा कर शुल्क घटाउनेमा केन्द्रित हुनेछ ।

यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा घोषणा गरेको जीएसटी सुधारसँग सम्बन्धित रहेको बताइएको छ, जुन दिपावलीदेखि लागु हुने बताइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ०७:५७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।