विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशको सचिवालय बैठकमा सहभागी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेताहरूले प्रश्नको वर्षा गराएका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डलाई भिजिट भिसा काण्डमा गरिएको दुई बुँदे सहमति र नेता जनार्दन शर्माले राखिरहेको असन्तुष्टिको विषयमा नेताहरूले प्रचण्डलाई प्रश्न गरेका थिए ।
‘मलाई गजब लागेको छ । यो हलमा सुशासन, सामाजिक न्याय र भ्रष्टाचार विरोधी अभियानको नेतृत्व गर्ने माओवादी र प्रचण्ड हो भन्ने पनि छौँ । मनमोहन बाहेक अर्थात प्रचण्डसमेत भ्रष्ट हो भनेर पार्टीकै नेताले आरोप लगाउँदा थपडी बजाउने पनि यही हलमा छौँ ।
के हुन लागेको हो ?,’ एक नेताले प्रश्न गर्दै भने, ‘प्रचण्ड पनि असुली धन्दामा लागेको हो भन्ने गम्भीर र अराजक आरोप लगाउनेको धारणामा जिवनभर असुली धन्दा चलाएका र पार्टीबाट पद, सुविधा र अवसर पाएकाहरूले नै थपडी बजाएको आश्चर्यजनक अवस्था पनि पार्टीमा चलेको छ ।’
यस्तै ती नेताले १८ महिने सरकारको काम, त्यसपछिको पार्टीको अभियानले जागेको उत्साहलाई दुई बुँदेले धूमिल बनाएको बताएका थिए ।त्यहीवेला बहसको नाममा बजाउन सुरु भएको बेमौसमी बाजाले पार्टीलाई कमजोर बनाएको उनको जिकिर थियो ।
‘पार्टीको पक्षमा सकारात्मक माहोल बन्दै जाँदा हरेक पटक किन समस्या खडा हुन्छ ? कांग्रेसमा नेतृत्व सङ्कट, एमालेमा विद्याको चुनौती आएको बेला नै हाम्रो पार्टीमा किन बखेडा सिर्जना भयो ? यो सामान्य र स्वाभाविक हो भन्ने लाग्दैन । गम्भीर हुनुपर्छ,’ उनले प्रचण्डलाई भने ।
प्रदेश कमिटीका एक सदस्यले एक नेताको विषयमा साङ्केतिक स्ट्याटस लेख्दा स्पष्टीकरण सोधिएको बताउँदै अर्का एक नेताले प्रश्न गरे, ‘अहिले केन्द्रका नेताहरू नै अध्यक्ष र अरू नेता विरुद्ध जथाभावी बोल्दा प्रदेश समितिले किन देखेनछ ।’
अर्का एक नेताले भने विचारको बहस गरेकै आधारमा कारबाहीको कुरा चलाउन नहुने बताए । ‘विचारको बहस हुन दिनुपर्छ । बहस गरेकै आधारमा कारबाही गर्नुहुन्न । पार्टी किन कमजोर भयो भन्ने समीक्षा गर्नुपर्छ ।
सङ्गठनात्मक अराजकता नियन्त्रण गर्नुपर्छ,’ ती नेताले भने, ‘नेतृत्वले हल्का अभिव्यक्ति दिने, शीघ्र प्रतिक्रिया दिने काम गर्नुहुन्न । अध्यक्षको उदारताले पनि समस्या भएको छ ।
दुई बुँदे नगरी विज्ञप्ति निकालेर सांसद खोल्नु पर्थ्यो ।’ स्थायी समिति बैठकपछि पनि पार्टीमा अराजकता सिर्जना गर्ने प्रयास भइरहेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरे ।




















प्रतिक्रिया