बंगलादेशको प्रमुख निर्वाचन आयोगले आगामी वर्षको फेब्रुअरीमा हुने आम निर्वाचनका लागि बिहीबार कार्ययोजना सार्वजनिक गरेको छ । निर्वाचनको मिति घोषणा हुनुभन्दा कम्तीमा ६० दिनअघि पूर्ण तालिका सार्वजनिक गरिने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले पत्रकार सम्मेलनमा भने, “मन्त्रिपरिषद्का मुख्य सल्लाहकारको कार्यालयले हामीलाई रमजानअघि नै निर्वाचन गराउन निर्देशन दिएको छ । रमजान फेब्रुअरी १७ वा १८ बाट सुरु हुनेछ । यसबाट तपाईंहरू सम्भावित निर्वाचन मितिको अनुमान लगाउन सक्नुहुन्छ ।”
अहमदका अनुसार, कार्ययोजनाअन्तर्गत सेप्टेम्बरको अन्त्यसम्ममा राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग छलफल सम्पन्न गर्ने लक्ष्य छ । यो प्रक्रिया करिब डेढ महिनासम्म चल्नसक्ने बताइएको छ । आयोगले फेब्रुअरीको पहिलो १५ दिनभित्र निर्वाचन गराउने लक्ष्य लिएको छ ।
यो कार्ययोजना अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसको निर्देशनमा तयार पारिएको हो, जसलाई बुधबार आयोगले अनुमोदन गरेको थियो ।
कार्ययोजनामा २४ वटा प्रमुख कार्यलाई प्राथमिकता दिइएको छ । यसमा लोक प्रतिनिधित्व आदेश (आरपीओ) र निर्वाचन क्षेत्र निर्धारण ऐनमा संशोधन, मतदाता सूची ऐन र निर्वाचन अधिकारी (विशेष प्रावधान) ऐन १९९१ मा सुधार, निर्वाचन आयोग सचिवालय ऐन २००९ को समीक्षा छन् । यस्तै चरणबद्धरूपमा मतदाता सूचीलाई अन्तिम रूप दिने, स्वदेशी–विदेशी निर्वाचन पर्यवेक्षक र पत्रकारहरूका लागि निर्देशिका निर्माण तथा नयाँ राजनीतिक दलहरूको दर्ताजस्ता विषय समावेश छन् । अहमदले निर्वाचनको आधिकारिक घोषणा डिसेम्बरको दोस्रो वा तेस्रो हप्तामा हुने बताए ।




















प्रतिक्रिया