काठमाडौं । नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ‘सिडेन’मा दुई पक्षीय भिडन्त हुने भएको छ । अध्यक्षमा सभापति देउवा पत्नी आरजु राणा निकट रविभुषण झाको नेतृत्वको टिम बनेको छ ।
त्यो टिमलाई कांग्रेस नेताहरु प्रकाशमान सिंह र एनपी साउदको संरक्षण रहेको स्रोत बताउँछ । उनको टिमलाई धेरै जना नेताहरुको समर्थन लिएर धनेन्द्र केसीले चुनौती दिँदैछन् । नेपाली कांग्रेसमा संस्थापनइतरको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले केसीलाई समर्थन दिएका छन् ।
डा. शेखरसँगै डा. शशांकले पनि उनै केसीलाई समर्थन गरेका छन् । त्यसबाहेक महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले पनि केसीलाई समर्थन दिएका छन् । वितमा संस्थापन र संस्थापनइतरका इन्जििनियरहरु विभाजित भएर चुनाव लड्ने गरेकोमा यसपटक भने टिम नेताहरुको नियन्त्रणमा बन्न पाएको छैन ।
तर जानकारहरु भने त्यसो नभएर दुवै पक्ष निकट मानिएकाहरु दुवै समूहमा रहेका छन् । “हामीले धनेन्द्र केसीलाई समर्थन गरेका छौं । अध्यक्षमा हाम्रो उमेदवार उहाँ नै हो,” डा. शेखरका तर्फबाट निर्वाचन परिचालनको जिम्मेवारी पाएका एक नेताले भने, “गगनजीहरुले पनि उहाँलाई नै समर्थन गर्नुभएको छ । तर, उहाँका मान्छेहरु अर्को टिममा बसेका कारण उहाँहरुको के हो भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।”
महामन्त्री विश्वप्रकाश शर्माले पनि अध्यक्षमा केसीलाई नै समर्थन दिए पनि महासचिवको उमेदवार टिममा समर्थन नजनाएकाले देखाउन गरेको समर्थन हो वा सहयोग पनि हुन्छ भन्ने अवस्थामा पनि नरहेको उनको बुझाई छ ।
“अध्यक्षमा विश्वजीले केसीलाई नै समर्थन गरेको भन्ने आएको छ । तर, महासचिवमा उहाँका निकटहरुले कुलराज खनाललाई अघि बढाएको अवस्था छ,” उनले भने ।
गगन थापा निकटहरु पनि अध्यक्षमा आफूहरुसँग डा. शेखर र डा. शशांकले पनि केसीलाई नै समर्थन दिएकाले केसीको जित सुनिश्चित रहेको दाबी गर्छन् । तर, टिम भने फरक ढंगले बनेको उनीहरुको स्वीकारोक्ति छ ।
“हाम्रा उमेदवार धनेन्द्र केसी हुन् । माहमन्त्री विश्वप्रकाश शर्मा, प्रदिप पौडेलले पनि उहाँलाई नै समर्थन दिनुभएको छ,” गगन थापा निकटका एक सदस्यले बाह्रखरीसँग भने, “अध्यक्षमा पूर्वमहामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइरालाको पनि उहाँलाई नै समर्थन छ । तर, डा. शेखर कोइराला निकटका भनिएकाहरु पनि झाको टिममा पनि उमेदवार देखिन्छन् ।”
सिडेनको चुनाव अहिले नेताहरुबाट भन्दा इन्जिनियरहरुबाटै प्रभावित हुने उनीहरुको बुझाइ छ ।
“हामी कांग्रेस निकट भएको कुरामा दुइमत भएन तर, सिडेन राजनीतिक भन्दा पेशागत संगठन हो,” डा. शेखर निकट एक इन्जिनियरले भने, “केहीलाई राजनीतिक नियुक्तिको लोभ देखाएर झाको टिममा उभ्याइएको पनि पाइएको छ । केहीलाई सत्ताको प्रभावमा पनि उता राख्ने काम भएको छ । तर, जेसुकै प्रयास गरे पनि यसपटक इन्जिनियरहरु पेशागत रुपमै एकाकार हुने निश्चित छ ।”
अर्को टिमको नेतृत्व गर्दै अध्यक्ष उमेदवार बनेका शिवभुषण झा भने आफू सिंगो संस्थापनको उमेदवार भएको दावी गर्छन् । उनी नेतासँग जोडिएर राजनीतिक करियर खोज्ने सानो समुह मात्र रहेको भन्दै व्यक्तिगत प्रभाव र सक्रीयताले चुनावको परिणाम निर्धारित हुने बुझाइमा छन् ।




















प्रतिक्रिया