पोखरा । पदावधि सकिएपछि गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल मंगलबारबाट अवकाशमा गएका छन् । प्रदेशसभाको पहिलो सचिव पोखरेललाई २०७७ भदौ १९ गते तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेका थिए । १९ गते नियुक्त भएता पनि पोखरेलले २२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।
त्यसकारण, नियुक्त मिति वा शपथका आधारमा कार्यकाल तय हुने भन्ने द्विविधाका बीच नियुक्ति मितिको आधारमा पोखरेलको पदावधि सकिएको हो । प्रदेशसभा सचिवालयले पठाएको पत्रका आधारमा मंगलबार नै प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखरेललाई अवकाशपत्र थमाएका थिए ।
आइतबार प्रदेशसभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी औपचारिक रूपमा उनको बिदाई गरेको हो ।
सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापासहित प्रदेशसभा सचिवालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीको उपस्थितिबीच आफ्नो बिदाइ मन्तव्य राख्दा पोखरेल पटकपटक भावुक बने । आफ्नो कार्यकालको सस्मरण सुनाइरहँदा पटकपटक उनको गला अवरुद्ध बन्यो भने अर्थ तथा विकास समितिको हल शान्त बन्न पुग्यो ।
पोखरेलले आफ्नो पाँचवर्षे कार्यकाल सक्रियताका साथ र विवादरहित तरिकाले सफल बनेको बताए । प्रदेशसभा सचिवालयको बेरुजु शून्य हुनुलाई उनले उपलब्धिको रूपमा व्याख्या गरे ।
कानुनतः उनले अवकाशको एक हप्तासम्म पनि सरकारी सुविधा उपभोग गर्न पाउँछन् । तर, अवकाश भएकै दिन उनले सचिवालयमा आफ्नो निजी सवारी लिएर आएका थिए, त्यसमै चढेर प्रदेशसभा सचिवालयबाट बाहिरिए ।
उनको बिदाइ कार्यक्रममा सभामुख धितालले पोखरेलको अनुभव प्रदेशसभालाई आवश्यक पर्ने हुँदा सल्लाहकारको रूपमा पुनः भेट हुने बताए । उनले पोखरेलको स्वभाव, क्रियाशीलताको प्रशंसा गरे ।
उपसभामुख थापाले पनि बिदाइको क्षणमा दुःख लागेता पनि पोखरेलको योगदानको कदर गर्दै खुसी हुुुनुपर्ने बताइन् । कर्मचारीका तर्फबाट लेखा अधिकृत पदमराज बरालले पोखरेलकै अगुवाइका कारण प्रदेशसभा सचिवालय व्यवस्थित बनेको बताए । अर्का कर्मचारी गीता दवाडीले कविता वाचनमार्फत पोखरेलको कार्यकालको स्मरण गरिन् ।
प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७७ को दफा ९ अनुसार सचिवको पदावधि पाँच वर्षको हुने उल्लेख गरिएको छ ।
पहिलो सचिव नियुक्त भएता पनि पोखरेल उमेरले साथ नदिने भएपछि आफ्नो कार्यकाल लम्ब्याउन ऐन नै संशोधनको चलखेलमा सक्रिय रुपले लागेका थिए । ऐनको दफा ८ को (ज) मा सचिवको योग्यता ४५ वर्ष पुरा भई ६० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था छ ।
दफा १० (ग) मा ६० वर्ष पुरा भएमा पदरिक्त हुने व्यवस्था छ । यही प्रावधानका कारण सचिव पोखरेल २०७९ चैतमा उमेरका कारण अनिवार्य अवकाशमा जाने थिए ।
उमेरहद लाग्ने हुँदा उनले पाँचवर्षे कार्यकालभर नियुक्ति खाइरहन ऐनले दिँदैन । त्यसकारण केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयकमार्फत उक्त उमेरहदलाई सच्याइएको थियो ।
उमेरहदकै कारण पद रिक्त हुने भएपछि मन्त्री रिझ्याउनेदेखि सभामुखसम्मको निकटतालाई उनले प्रयोग गरेका थिए । तत्कालीन सभामुख नेत्रनाथ अधिकारीमार्फत तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि ‘अरू प्रदेशमा भएको व्यवस्था’ भन्दै ऐन संशोधन गर्नुपर्ने सन्देश पठाएका थिए ।
अघिल्ला मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सरकारकै पालामा ऐन संशोधनको तयारी थियो । तर कांग्रेसकै प्रदेशसभा सदस्यहरु पोखरेलको कार्यकाल लम्ब्याउने पक्षमा उभिएनन् भने एमाले पनि पोखरेलको कार्यसम्पादनसँग सन्तुष्ट थिएन ।
अघिल्लो सरकारकै पालामा संसद्मा दर्ता भएर विधायन समितिमा लामै छलफल भए पनि उक्त विधेयक पारित हुन सकेन । ऐनमा देखिएका त्रुटिका अतिरिक्त नाम नामेसी सच्याउनका लागि संशोधन प्रस्ताव पेस गरिएको थियो । तत्कालीन कानुन तथा सञ्चारमन्त्री विन्दुकुमार थापाको संयोजकत्वमा संशोधन समिति नै गठन भएको थियो । त्यही समितिले तयार पारेको प्रस्ताव उतिबेलै सदनमा लगिएको थियो । उनको कार्यकाल लम्ब्याउन माओवादी केन्द्र लागेको थियो ।




















प्रतिक्रिया