काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानले मुलुकभर व्यापक उत्साह र आशा जगाइरहेको बताएका छन् ।
आइतबार (भदौ २२) लमजुङको राइनास नगरपालिका पुगेका उनले अभियान वर्षाका कारण यसअघि केही समय स्थगन गरिएको उल्लेख गरे । अभियानमा अपेक्षाभन्दा बढी उत्साहप्रद जनसहभागिताले पार्टीप्रति मात्र नभई जनतामाझ पनि नयाँ ऊर्जा थपिएको बताए ।
उनले विगतमा हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दै सहिद परिवारको घरमा बसेर उनीहरूका पीडा र अनुभव सुनिएको बताए ।
उनले भने, “हामी हाम्रो वर्ग, हाम्रो विचार र जनतासँग टुटेको कडीलाई पुनः जोड्न आएका हौँ ।”
अभियानका क्रममा नेपाली कांग्रेस वा नेकपा (एमाले)का स्थानीय जनप्रतिनिधिले समेत स्वागत र सहयोग गरेका उनले बताए ।
“ठूला नेताप्रति मन पर्ने/नपर्ने जे भए पनि जनप्रतिनिधिहरूले माओवादी नेतृत्वलाई देशको समस्या समाधान गर्न सक्ने शक्ति भनेर स्वीकार गरेका छन् । यही कारण यो अभियान अब सिंगो राष्ट्रकै अभियान बनेको छ,” उनले भने ।




















प्रतिक्रिया