Logo

प्रमुख समाचार

पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा सूचना चुहाएसँगै सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी



पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको छलफलको सूचना चुहाएसँगै सामाजिक सञ्जालमा राष्ट्रपति रामचन्द्र पौडेलको खोजी सुरू भएको छ।

उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा बैठकमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले गरेको प्रस्तावबारेको सूचना चुहाएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रपति पौडेलको सोधिखोजी सुरू गरेका हुन्।

पत्रकार नेपालले एक्समा बुधबार राष्ट्रपति पौडेलको उपस्थितिमा सुरक्षा प्रमुखहरूको बैठक बसेको र बैठकमा प्रधान सेनापति सिग्देलले राष्ट्रपतिसँग ‘राजीनामा दिन’ आग्रह गरेको दाबी गरेका छन्।

उनका अनुसार सिग्देलले राष्ट्रपति पौडेललाई राजीनामा दिन आग्रहमात्रै नगरेर बाँकी सेनाले सम्हाल्ने अभिव्यक्ति दिएको पनि जिकिर गरेका छन्। आग्रहपछि राष्ट्रपति पौडेलले सेनापतिलाई आफ्नो हत्या गर्न भनेको समेत नेपालको दाबी छ।

‘राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसँग ‘राजीनामा दिने’ आग्रह गर्दै भने छन, ‘बाँकी हामी सम्हाल्छौँ,’ पत्रकार नेपालले लेखका छन्, ‘राष्ट्रपतिको जवाफ थियो : म राजीनामा दिन्न। बरू, तपाईंहरू मलाइ मारी दिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाई दिनुहोस्। त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस्।’

पत्रकार नेपालको यो एक्स पोस्टले सामाजिक सञ्जाल तरंगित बन्न पुगेको छ। उनको पोस्टलाई ३२९ जनाले रि-पोस्ट गरेका छन्। पोस्ट ‘भाइरल’ भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सेनासँग राष्ट्रपतिको पछिल्लो अवस्था सार्वजनिक गर्न माग गरिरहेका छन्।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार ०७:२७   :  बजे

1.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।