Logo

अर्थ

आयोजना कटौती गरेर १ खर्ब स्रोत जुटाउने अर्थमन्त्री खनालको योजना, तीन सदस्यीय कार्यदल गठन



काठमाडाैं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका तयारी बिनाका तथा टुक्रे आयोजनाहरू कटौती गर्न सके करिब १ खर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन सकिने बताएका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेपछि कर्मचारीहरूलाई निर्देशन दिँदै उनले छ महिनाभित्र निर्वाचन गराउनुपर्ने र पुनःनिर्माणलगायतका महत्वपूर्ण कार्यका लागि थप स्रोत आवश्यक भएकाले बजेट पुनरावलोकन अपरिहार्य भएको बताए ।

उनले आजै बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका छन्, जसले बजेटमा रहेका कार्यक्रम र आयोजनाहरूको समीक्षा गरी प्राथमिकता निर्धारण गर्नेछ ।

उनले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने बताए । “कालो लागेको भित्ता रंगरोगन गरौं । हामी विनासबाट उठ्यौँ है भनेर अर्थ मन्त्रालयबाटै सन्देश दिन जरुरी छ, धेरै सार्वजनिक सम्पत्तिको बिमा भएको छैन”, उनले भने, “निजी सवारीमा भएको क्षतिको दायित्व बिमाबाट पूर्ती हुनेछ, यो कामचलाउ सरकार हो, नयाँ सवारी साधन खरिद नगरौँ, कवाडी भएको बिक्री गरौँ, पुनःनिर्माण तत्कालै सुरु गरी हामी केही महिनाभित्रै उठ्यौ भन्ने सन्देश दिन जरुरी छ ।”

उनले सरकारले कुनै नयाँ सवारी साधन किन्ने सट्टा पुराना गाडीहरू बेचेर पुनर्निर्माण प्रक्रिया सुरु गर्ने योजना रहेको जानकारी दिए ।

अर्थमन्त्री खनालले निजी क्षेत्रको विश्वास जित्न पनि जोड दिए । उनले भने,‘निजी क्षेत्रसँगको समन्वयमा सुधारका कदमहरू चाल्नु पर्नेछ, ताकि राजस्व असुलीमा दबाब कम होस् र आर्थिक विकासमा मद्दत पुगोस् ।’

 

 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १५:४३   :  बजे

471
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।