Logo

धर्म / संस्कृति

नवरात्र प्रारम्भ: घटस्थापनासँगै दुर्गापूजाको आरम्भ



दसैँ पर्व आश्विन शुक्ल प्रतिपदामा सुरु भई नौ दिनसम्म दुर्गा भवानीको पूजा गरिन्छ।
यस अवधिमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरिन्छ, जसमा दुर्गाको नौ रूपको पूजा हुन्छ।
दसैँमा दुर्गा सप्तशती पाठ गरिन्छ र यसले आन्तरिक शक्ति, आत्मबल र साहस बढाउँछ।
आश्विनमासको शुक्ल प्रतिपदा सुरु भएसँगै हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँ सुरु हुन्छ । आज प्रतिपदा शुद्ध भएकोले यसै दिन घटस्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा उपासना गरिन्छ । हिन्दु धर्मावलम्बी भक्तजनहरूले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् । आजको दिनलाई धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले अति महत्त्वपूर्ण मानिन्छ ।
सूर्योदयदेखि १० घडीसम्मको समयमा शुद्ध स्थानमा घटस्थापना गरी तिलको तेलद्वारा माङ्गलिक स्नान गरेपछि देवीको पूजा गर्नुपर्दछ। पूजा कोठा वा दसैँ घरलाई शुद्ध माटो वा गाईको गोबरले पोतेर पवित्र बनाउनु पर्दछ । घट भन्नाले घडा (कलश) लाई जनाउँदछ भने स्थापना भन्नाले स्थापना गर्ने कार्य । घटस्थापना गरिएको स्थानमा शङ्ख, डमरु, घण्टी बजाउँदै सप्तशती चण्डी पाठ गरी दुर्गा भवानीको स्तुति गान गर्नुपर्दछ । पूजामा दुर्गाको नौ दिन आजबाट नै असत्यमाथि सत्यको विजय र अधर्ममाथि धर्मको जितको सन्देश फैलाइन्छ ।
दुर्गाको आवाहन गर्दै पूजा गर्ने ठाउँलाई कलश (पवित्र जल राखिएको घडा) लाई शुद्ध जलले भरि पञ्चपल्लव (बर, पिपल, समी, आँप, डुम्री) राखिन्छ । नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटाको पूर्ण घडा स्थापना गरी जमरा उमारिन्छ । दशमीको दिन देवीको प्रशादको रुपमा जमरालाई शिरमा राखिन्छ जसलाई शुभता र आशीर्वादको प्रतीक मानिन्छ ।
पूजामा शक्तिस्वरूपा दुर्गा भवानीको नौरुप–शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गा पूजाका नामले पनि प्रसिद्ध छ । फूल, धूप, दियो, जल र अन्नको प्रयोग गरी मन्त्र जप र स्तोत्र पाठ गरिन्छ ।
प्रमुख शक्ति पीठहरू भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, खाँडादेवी, कालीमाई लगायत देशका अन्य स्थानका शक्ति पीठमा समेत दुर्गा भवानीको पूजा गरिन्छ । त्यसै गरी देवदेवीका मन्दिर र शक्ति पीठहरूमा शक्तिरुपा दुर्गाको पूजा आराधना गरिन्छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ०५:५२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।