चितवन । तुइनखोलामा दुई दिनदेखि खसेको पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको छ ।
माथिबाट खसेको १५ हजार घनमिटर बराबरको पहिरोको राति ९ बजेसम्म करिब एक हजार घटनमिटर जति पन्छाउन बाँकी रहेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए ।
उनका अनुसार अहिले माथिबाट खसेर भित्तामा अड्किएका ढुङ्गा माटो पनि पन्छाउने काम भइरहेको छ ।
‘माथिबाट झर्न लागेजस्ता लगभग सबै जसो ढुङ्गा माटो खसेको देखिन्छ’, उनले नेपाल प्रेससँग कुरा गर्दै भने, – हामी भित्तातिर अड्किएका सबै सफा गरेर मात्रै सडक खुलाउने तयारीमा छौँ ।
अहिले डिभिजन सडकका इन्जिनियर सहितको ७ जना प्राविधिक टोली, सात जना अपरेटर, चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहितको टोली तुइनखोलामा खटिएका छन् ।
दसैंको समयमा यात्रुहरु तथा ढुवानीका सामग्री अलपत्र नपरुन् भनेर आज राति नै सडक सञ्चालनमा ल्याउने तयारी गरिएको जनाइएको छ । रातिको समयमा फ्लोड लाइट बालेर पहिरो सफा गरिएको हो ।
ठूलो पहिरो पछि हिजो पनि पानी परेर लेदोसहितको पहिरो खसेको थियो । आज भने माथिबाट पहिरो खसेको नदेखिएको इन्जिनियर घिमिरेले बताए ।



















प्रतिक्रिया