Logo

धर्म / संस्कृति

सम्पन्न भयो आलम देबी मेला, दशैंको अन्तिम दिन सराय नाचमा परिणत पाणिनी



अशोक वेल्बासे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–५ स्थित आलम देवी भगवती मन्दिर परिसरमा हरेक वर्षझैँ यस वर्ष पनि पूर्णिमा मेला भव्य रूपमा सम्पन्न भएको छ।

नव दुर्गा पूजासँग सुरु भएको यो धार्मिक यात्रा पूर्णिमाको दिन माईको मेडो बिसर्जनसँगै समापन भएको हो।

मेला अवधिभर दैनिक पूजापाठ, भजनकीर्तन, मौलिक सराय नाच, सांस्कृतिक प्रस्तुति र भक्तजनहरूको उत्साहपूर्ण सहभागिताले सम्पूर्ण मन्दिर क्षेत्र श्रद्धा र उल्लासले भरिएको देखियो।

मेला व्यवस्थापन समितिका अध्यक्ष चन्दमनी घिमिरेका अनुसार “यो मेला हाम्रो आस्था, संस्कार र एकताको सुन्दर प्रतीक हो। समुदायकै एकताले हरेक वर्ष यो परम्परा अझ सुदृढ हुँदै गएको छ।”

सचिव खगिश्वर घिमिरेले भनेः “आलम देबी मेला केवल धार्मिक कार्यक्रम होइन, नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने विद्यालय हो।”

त्यस्तै पूर्वध्यक्ष लक्ष्मण पाण्डेका भनाई अनुसार “स्थानीयको सहभागिता र सहकार्यले नै मेलालाई अनुकरणीय बनाउन मद्दत गरेको छ। यो हाम्रो गौरवको प्रतीक हो।”

“मेला धार्मिकता मात्र होइन, सामाजिक एकताको पनि केन्द्र बनेको छ। सबै मिलेर यस परम्पराको संरक्षण गर्न आवश्यक छ।” स्थानिय शिक्षक तथा समाजसेवी भोजराज घिमिरेले बताए ।

लायन्स क्लब अफ काठमाडौं सेन्ट्रल लुम्बिनीका अध्यक्ष तथा सराय नाच व्यवस्थापन सदस्य अशोक बेल्बासेले भन्भन्ः “हाम्रो दशैं तब मात्र पूरा हुन्छ, जब पूर्णिमा मेला सकिन्छ। यो मेला हाम्रो श्रद्धा र संस्कृतिको पहिचान हो।”

त्यस्तै, सराय समन्वयक टामलाल बेल्बासेले आफ्नो अनुभूति व्यक्त गर्दै भनेः “सराय नाच हाम्रो पुरानो संस्कृतिको आत्मा हो। यसलाई निरन्तरता दिन पाउनु नै गर्वको कुरा हो। स्थानीय युवाको सहभागिताले यस वर्षको प्रस्तुति झन् प्रभावकारी बनेको छ।”

मेलामा टाढाटाढाबाट आएका भक्तजनहरूको उल्लेखनीय उपस्थितिले आलम देबी मन्दिर परिसर गुञ्जिएको थियो । भक्तजनहरूले माताको दर्शन गर्दै धार्मिक शान्ति, समृद्धि र सुखको कामना गरे। स्थानीय युवाहरू, सुरक्षाकर्मीहरू, र समितिका सदस्यहरूको संयोजित प्रयासले सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भयो।

साँच्चिकै, आलम देवीको पूर्णिमा मेला केवल धार्मिक पर्व होईनः यो आस्था, संस्कार, एकता र सांस्कृतिक गौरवको जीवित प्रतीक बनेको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार ०८:२२   :  बजे

294
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।