Logo

प्रमुख समाचार

निर्णयमा पुग्नुहोस्, मेरो सहमति छ: कांग्रेस सभापति देउवा



तीन दिनसम्म बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । बैठकले सबैको साझा धारणा बनाउने भन्दै आइतबार बस्ने भनिएको केन्द्रीय समिति बैठक २८ गतेका लागि सरेको छ । आइतबार र सोमबार पदाधिकारी बैठक बसेर विविधतामा एकताको खोजी हुने गरी धारणा आउने सहमति गरेर शनिबारको बैठक सकिएको छ । कांग्रेसका बहुमत नेता नियमित महाधिवेशनको पक्षमा छन् । तर निर्वाचन अगाडि कि पछाडि भन्ने कुरा मिलेको छैन ।

‘हामीले आइतबार बस्ने भनिएको केन्द्रीय समिति बैठक २८ गते बोलाउने भनिएको छ । भोलि र पर्सी एकताको खोजी गर्ने भनेका छौँ’, एक पदाधिकारीले भने, ‘कसरी अगाडि जाने हो । साझा धारणा बनाउने वातावरण बन्छ भन्ने लागेको छ । नियमित महाधिवेशनको पक्षमा बहुमत नेता छन् ।’

आइतबार १ बजे कार्यसम्पादन समितिकै बैठक बस्ने छ । आइतबार र सोमबारको बैठकबाट कांग्रेसले निर्वाचन अगाडि नै नियमित महाधिवेशन गर्ने कि कार्यवाहक अध्यक्ष तोकेर जाने भन्ने विषयमा निर्णय लिने कांंग्रेसका अर्का शीर्ष पदाधिकारी बताउँछन् ।

बैठकमा नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङलगायतले नियमित महाधिवेशन गर्नुपर्नेमा बिहीबारकै बैठकमा जोड दिए । यस्तै कुनै पदाधिकारीले विशेष महाधिवेशन गर्नुपर्ने सुझाव दिए । शीर्ष नेताले निर्वाचन अगाडि कार्यकारी तोकेर अगाडि जानुपर्ने माग राखेका छन् ।

बैठकमा सबै नेताले बोल्ने पालो पुगेपछि सभापति शेरबहादुर देउवाको सन्देश उपसभापति खड्काले राखेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा भदौ २३ र २४ गतेको आन्दोलनपछि घाइते भएर उपचारमा छन् ।

‘पार्टी सभापतिसँग भेटघाट गरेर आएको थिएँ । पार्टी सभापति देउवाले कसरी हुन्छ सबै मिलेर तपाईंहरू निर्णयमा पुग्नुहोस् । अहिलेको अवस्थामा यहाँहरूले जे निर्णय गर्नुहुन्छ त्यसमा मेरो सहमति छ’, खड्काले देउवाको भनाइ उद्धृत गर्दै भनेका थिए, ‘सबै बसेर निर्णय गर्नुहोस्, म तयार छु । धेरै कुरा गर्न म चाहन्न । मेरो स्वास्थ्यले पनि साथ दिएको छैन । धेरै उठ्दा पनि मलाई रिँगटा चलिरहेको छ । म केन्द्रीय समिति बैठकमा मात्र एकछिन आउँछु होला ।’

देउवाले के गर्ने भनेर सबैले एउटा निर्णय गर्नुपर्ने र त्यो निर्णयमा आफू तयार रहने बताएको खड्काले बैठकमा ब्रिफिङ गरे । ‘एकता प्रदर्शन गर्नु भनेर सभापतिले भन्नुभएको छ । बिहान पनि कुरा भएको थियो’, खड्काले देउवाले राखेको कुरा बैठकमा सुनाउँदै भने, ‘उहाँले म अब जे बहुमतले निर्णय गर्छ त्यो मान्छु भन्नुभएको छ । तर हामी साझा धारणा बनाएर जानुपर्छ ।’

खड्काले सभापतिले पठाएको सन्देश बैठकमा राखेसँगै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा भएका कुरा पनि सुनाए । उनले राजनीतिक दलले त्रासपूर्ण तरिकामा निर्वाचनमा भाग लिने वातावरण सरकारले तयार पार्नुपर्ने कुरा राखेको बताएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार ०९:३२   :  बजे

1.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।