Logo

प्रमुख समाचार

गृहमन्त्री अर्यालमाथि प्रभु साहको प्रश्नः गृह प्रशासन चलाउने कुरा अदालतमा रिट हाल्ने र बहस गर्ने जस्तो हो ?



रौतहट । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिकामाथि प्रश्न उठाएका छन् । गृहमन्त्री अर्यालले देशमा शान्ति, सु–व्यवस्था र अमनचयन कायम गर्ने गरी भूमिका नखेलेको भन्दै साहले प्रश्न उठाएका हुन् ।

देशमा शान्ति, सुरक्षा र अमनचयनको जिम्मा लिएका गृहमन्त्रीले राम्रो सुझबुझ देखाउन नसकेको र राजनीतिक प्रतिशोधको उत्रिन खोजेको आभास हुन थालेको भन्दै साहले आलोचना गरे ।

मौलापुरमा आज पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई चुनावको म्याण्डेटमा ध्यान दिन भन्दै अनावश्यक मिडियाबाजी र म्यानुपुलेशनमा नलाग्न पनि चेतावनी दिए ।

उनले देशको गृह प्रशासन चलाउने कुरा अदालतमा रिट निवेदन हाल्ने र बहस गरेजस्तो सजिलो नहुने भन्दै समयको गम्भीरतालाई ध्यान दिएर चुनावको वातावरण बनाउने कुरामा आफ्नो भूमिका निर्वाह गर्न गृहमन्त्रीलाई सुझाव दिए ।

उनले प्रधानमन्त्री सुशीला कार्की चुनाव गराउने दिशामा नभएर देशलाई दिशाहीन गन्तव्यमा पुर्याउन उद्धत रहेको आरोप लगाए । वर्तमान सरकारको हुती हेरेर नै भदौ २३ गते जेनजी आन्दोलनको क्रममा युवाहरूको नरसंहारमा उत्रिएका केपी ओलीजस्ता अधिनायकवादी शासकहरूले अहिले टाउको उठाउन थालेको उनको दाबी छ ।

साहले वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने सङ्केत देखिएको भन्दै निर्णायक सङ्घर्षमा होमिनको लागि न्यायप्रेमी, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई अपिल गरेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार २०:०४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।