भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका छन् । नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित एक हजार ८०० वर्ष पुरानो लिच्छवीकालीन ऐतिहासिक चाँगुनारायण मन्दिरको आज २६ हजारभन्दा बढीले भक्तजनले दर्शन गरेका हुन् ।
मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चारमध्येको जेठो नारायणका रूपमा मानिँदै आइएको चाँगुनारायण नगरपालिका–४ स्थित विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड घुइँचो लागेको बताए ।
पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणका रूपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको जानकारी दिए। चार नारायण जान नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि पुण्य प्राप्त हुने मान्यता रहेकाले यहाँ बिहानदेखि भक्तजनको घुइँचो लागेको उनको भनाइ छ ।
धार्मिक मान्यताअनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजयी प्राप्तपछि थकित भएका भगवान् विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान् विष्णु पुनः जागा हुने भएकाले यसलाई हरिबोधनी अर्थात् ‘हरि जागरण’को प्रतीकका रूपमा मानिने परम्परा रहँदै आएको पुजारी राजोपाध्यायले जानकारी दिए ।
आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यस दिन चाँगुनारायणमा दर्शन गर्दा भगवान्को नगर पर्ने र आशीर्वाद प्राप्त हुने जनविश्वास रहिआएको उनले बताए ।





















प्रतिक्रिया