Logo

प्रमुख समाचार

सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन- सबै मन्त्रालयको ब्लुप्रिन्ट तयार पार्नू



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री र सचिवहरूलाई बोलाएर आयोजना गरिएको छलफलमा उनले सबै मन्त्रालयको ब्लुप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न निर्देशन दिएकी हुन् ।

‘भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस् । सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न अर्थ मन्त्रालयले जारी गरेको परिपत्रलाई कडाइका साथ पालना गर्नुहोस्,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले निजी क्षेत्रको मनोबल वृद्धि गरी औद्योगिक वातावरणमा सुधार गर्न आवश्यक संवाद, सहजीकरण र सहकार्य गर्न आग्रह गरेकी थिइन्। आम नागरिकमा सरकारप्रतिको भरोसा वृद्धि गर्ने एवं निजामती कर्मचारी र सुरक्षाकर्मीहरूमा मनोबल वृद्धि गर्ने उपायहरू अवलम्बन गर्न पनि निर्देशन दिइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

त्यस्तै कर्मचारीहरूको सरुवा-बढुवा प्रणालीलाई व्यवस्थित गरी अनुमानयोग्य, पारदर्शी र न्यायोचित बनाउने विषयमा पनि गृहकार्य गर्न उनले आग्रह गरिन्। ‘आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको क्षति तथा नोक्सानीको प्रतिवेदन तत्काल तयार गरी पुनर्निर्माणको नीति र कार्ययोजना बनाउनुहोस्। भौतिक संरचना मेशिनरी औजार तथा उपकरणमा पुगेको क्षतिबाट सेवा प्रवाह अवरुद्ध हुन नदिन तत्काल खरिद वा वैकल्पिक सेवा प्रवाहको व्यवस्था गर्नुहोस्,’ उनले भनिन्।

त्यस्तै निर्वाचनको वातावरण बनाउन आफूले निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग निरन्तर संवाद गरिरहेको बताउँदै उनले निर्वाचनको पूर्व तयारीका लागि आ-आफ्ना जिम्मेवारीका कार्यहरूलाई चुस्त दुरुस्त रूपमा सम्पादन गर्न निर्देशन दिइन्।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १६:१७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।