काठमाडौं । आगामी फागुन २१ गते हुने चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने भएको छ । यसअघि भएका चुनावमा प्रयोग भएका मतपेटिका पुनः प्रयोग गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगसँग पर्याप्त मात्रामा मतपेटिका उपलब्ध छन् । “मतपेटिका शतप्रतिशत नै छ,” उनले बताए ।
उनका अनुसार आयोगले अन्य आवश्यक सामाग्रीहरूको खरिदसहित निर्वाचनका लागि आवश्यक बजेट तयार गरी अर्थ मन्त्रालयमा पठाएको छ ।
निर्वाचन आयोगले अर्थ मन्त्रालयमा पठाएको बजेटअनुसार, आगामी प्रतिनिधिसभा सदस्यको चुनावका लागि करिब साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तर उक्त बजेट अझै अर्थ मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेको आयोगले जनाएको छ ।
आयोगले बजेट तयार गरेसँगै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गर्ने कार्य अन्तिम चरणमा रहेको जनाएको छ । अर्थ मन्त्रालयबाट बजेट स्वीकृत भएपछि आवश्यक सामग्री खरिद प्रक्रिया सुरू गर्ने तयारी आयोगको रहेको छ ।
आयोगका अनुसार विगतका निर्वाचनहरूमा प्रयोग भएका मतपेटिकासहितका विभिन्न सामग्रीहरू पुनः प्रयोग गर्न मिल्ने भएकाले नयाँ खरिदको आवश्यकता पर्दैन । यसबाहेक, आयोगले केही थप सामग्री खरिद गर्ने तयारी भने गरेको छ ।





















प्रतिक्रिया