Logo

गण्डकी प्रदेश

मुस्ताङको ‘छुआमा’ हिमालमा पहिलोपटक आरोहण सफल



माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ। दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ मा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ।

यहाँको माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका–४ स्थित नाम्डो गाउँबाट माथिको ५४८० मिटर उचाइको छुआमा आधार शिविर हुँदै चढ्नुपर्ने हुन्छ। दक्षिण कोरियाली पर्यटक डोङजिन, नाम्योङ र ह्निचुलसहित पाँच जना नेपाली पर्यटक गाइडहरूले छुआमा आधार शिविर हुँदै ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए।

पहिलोपटक उपल्लो मुस्ताङमा अवस्थित तीन वटा छुआमा शिखरमध्ये छुआमा तेस्रो शिखरको आरोहण गरी कोरियाली टोली त्यहाँबाट लोमान्थाङ फर्किएको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाइ छ। नोभेम्बर २ तारिखको बिहान २ बजे ‘छुआमा’ आधार शिविरबाट प्रस्थान गरेको पर्वतारोहण टोली १० घण्टापछि छुआमा शिखरमा पुगेको थियो।

यहाँको उपल्लो मुस्ताङबाट पहिलो पटक विदेशी नागरिकले ‘छुआमा’ हिमालको पर्वतारोहण गरेको एक्याप लोमान्थाङले जनाएको छ। यसअघि ‘छुआमा’ हिमाल पर्वतारोहणका लागि अक्टोबर १८ तारिखमा ट्रेकिङ क्याम्प नेपालको टोलीले स्थलगत निरीक्षण गरेको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार २२:१७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।