भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ मन्दिर एवं चोकमा आज साँझ झलमल्ल छ । मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको छ ।
आज कात्तिक शुक्ल पूर्णिमा अर्थात् नेवार समुदायले मान्दै आएको ‘सकिमना पुन्ही’ को दिन विभिन्न मन्दिर एवं पाटी अगाडि धान, मकै, भटमास, भुटेका गेडागुडीलगायत विभिन्न अन्नबाट गणेश, बिस्काः जात्राको रथ, मन्दिरलगायत विभिन्न देवीदेवताका आकृति बनाई बत्ती बालेर भेटी चढाउनुका साथै पाटीमा दाफा भजन गाएर भव्य रूपमा मनाएका छन् ।
आजको दिन नेवार समुदायमा आ–आफ्नो टोलमा रहेका दाफा भजन खलःले नसाःबाट मठमन्दिर अगाडि गहुँ विछ्याएर ताय (धानको लावा) र कालो भटमासले भगवानकोस्वरूप बनाउने, त्यस्ता स्वरूपलाई चारैतिर भुटेको मकैले घेरा बनाउँदै त्यसमाथि पुरी र माल्पुवाले घेरेर फूलको मालाले शृङरपटार गरी दक्षिणा चढाइ दियो बालेर भजनकीर्तन गाउने प्रचलनअनुसार आज मन्दिर र पाटी पौवामा यस्ता दृश्य जताततै देख्न पाइन्छ ।
नेवार समुदायका भजन खलः, दाफा भजन खलःहरूले आजको दिनलाई विशेष पर्वको रूपमा मनाएका छन् भने कोजाग्रत पूर्णिमाको दिन सुरु गरिएको एक महिने रात्रिकालीन दाफा भजनकीर्तन पनि आज रातिदेखि समापन गरिनेछ । आज रातभर मन्दिर अगाडि भजनकीतर्न हुने गर्दछ । आजको दिन पिँडालु उसिनेर खाने र नसाः ९मकै, भटमास, गहुँ र ताय० बाट भगवान्का आकृति बनाइ त्यसलाई प्रसादको रूपमा बाँड्ने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताउँछन् ।


















प्रतिक्रिया