Logo

प्रमुख समाचार

विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको छ: रास्वपा



 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गरेका छन् । आजदेखि सौराहामा सुरु गरिएको विस्तारित बैठकमा अर्यालले ३४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।
राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अर्यालले भदौ २४ गतेको विध्वंशमा राजनीतिक कार्यकर्ताहरूको संलग्नता रहेको स्वीकार गरे । प्रतिवेदनमा भनिएको छ, “रास्वपाले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन माग गरेको छ, जसमा दोषीलाई कारबाही गरिनुपर्छ ।” उनले घटना योजनाबद्ध भएको आशङ्का गर्दै दोषीलाई कारबाही नगरे न्याय स्थापित नहुने बताए ।
आजबाट सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भदौ २४ को विध्वंशमा राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनाबद्ध हो कि भन्ने आशङ्कालाई पनि बढाएको छ ।”
दोषीहरूलाई कारबाही नगरी न्याय स्थापित हुन नसक्ने भन्दै प्रतिवेदनमा दण्डहीनताले भविष्यमा पनि यस्ता घटना दोहोरिने सम्भावना बढ्ने उल्लेख गरिएको छ । दोषीलाई कारबाही गरेर मात्र पीडितले न्याय पाउँछन् र कानुनी राज्यको प्रत्याभूति हुनेछ भन्ने उल्लेख गरिएको छ । छानबिनबाट मात्र भविष्यमा राज्यले बल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, भीड नियन्त्रणका उचित उपाय र शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्ने तरिकाबारे नयाँ नीति र कार्यविधि बनाउन सकिने उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी निर्वाचनलाई आफ्नो ‘अर्जुनदृष्टि’ बनाउँदै स्पष्ट बहुमतको सरकार निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्ने राजनीतिक कार्यदिशा तय गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यवाहक सभापति अर्यालले चुनाव केन्द्रित रणनीति र त्यसका लागि वैकल्पिक शक्तिहरूबीच एकता, सहकार्य र मोर्चाबन्दीको नीति अख्तियार गरेको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार २१:४३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।