Logo

प्रमुख समाचार

निर्वाचन आयोगले पूर्व आयुक्तहरूसँग आगामी निर्वाचन तयारीबारे छलफल गर्दै



काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पार्दै निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग व्यापक छलफल सुरु गरेको छ । आयोगका अनुसार निर्वाचनसम्बन्धी अनुभव आदान–प्रदान, विगतका चुनावका समस्या तथा समाधान, शान्ति–सुरक्षाको अवस्था र राजनीतिक दलहरूसँगको समन्वयका विषयमा छलफल केन्द्रित हुनेछ ।

यसअघि आयोगले राजनीतिक दलहरू र सरोकारवाला निकायहरूसँग पनि निर्वाचन तयारीबारे परामर्श गरेको थियो । आयोगले सबै राजनीतिक दल र स्थानीय तहका निकायहरूलाई मतदाता नामावलीमा नाम छुट भएका नागरिकलाई दर्ता गर्न प्रोत्साहन गर्ने आग्रह गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार हालसम्म निर्वाचन तयारीको करिब ६० प्रतिशत काम पूरा भइसकेको छ भने बाँकी काम योजनाबद्ध रूपमा अगाडि बढाइरहेको छ ।

आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको विस्तृत सूची तयार गरी खरिद प्रक्रिया सुरु गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले ७९ प्रकारका सामग्री आवश्यक पर्ने जनाएको छ, जसअन्तर्गत १४ प्रकारका वस्तु खरिदको प्रक्रिया अगाडि बढिसकेको छ ।

मतपेटिका, औँलामा चिह्न लगाउने मार्कर पेन, पित्तलको स्वस्तिक छाप, स्ट्याम्प प्याड, मसी, कागज, धागो, सियो, स्टेपलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची लगायतका सामग्री तयारीमा रहेका छन् । साथै, निर्वाचनसम्बन्धी ऐन, नियम, निर्देशिका, कार्ड, मतदान कक्षका छेकवारा, कपडाको थैलो र फारमहरू समेत तयारी सूचिमा छन् ।

आयोगले समयमै सम्पूर्ण तयारी पूरा गरी आगामी फागुन २१ गते तोकिएको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १०:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।