Logo

गण्डकी प्रदेश

बागलुङमा थपिए पाँच हजार ३९३ मतदाता



आगामी २१ फागुनको निर्वाचनका लागि बागलुङमा पाँच हजार ३९३ जना नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार जिल्लामा यसभन्दा अगाडि एक लाख ८९ हजार १७३ जना मतदाता थिए । बायोमेट्रिक विधिबाट कार्यालयमै आएर एक हजार ४६४ जना र राष्ट्रिय परिचयपत्रका आधारमा तीन हजार ९२९ गरी पाँच हजार ३९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए ।

१०० जनाको बाह्य दर्तासमेत गरेको रिजालले बताए । राष्ट्रिय परिचयपत्रका आधारमा फोटोसहितको मतदाता नामावलीमा महिला र पुरुष छुट्टाउने काम भइरहेको निर्वाचन अधिकारी रिजालको भनाइ छ ।

उनले निर्वाचन कार्यालयमा नाम दर्ता गराउन युवापुस्तामा मतदाताको उत्साहजनक सहभागिता रहेको बताए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालयले नयाँ मतदाताको नाम दर्ता गर्ने, त्रुटि सच्याउने, स्थान परिवर्तनलगायत काम गर्दै आएको रिजाललेको भनाइ छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार ०७:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।