Logo

प्रमुख समाचार

गगनको विशेष महाधिवेशनको प्रस्तावमा देउवाले भने: पार्टी फुट्छ



नेपाली कांग्रेसभित्रको विवाद समाधान उन्मुख देखिएको छैन। बिहीबार साँझ सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा महामन्त्री गगनकुमार थापाले देउवालाई नै विशेष महाधिवेशन गरेर पार्टी र देशलाई फाइदा पुग्ने काम गर्न भनेका थिए।

‘संस्थापनपक्षले नै नियमित भ्याइँदैन भनेको छ। नियमित गर्नुपर्छ भनेर कुरा गरेकै डेढ महिना पूरा भयो,’ छलफलमा सहभागी एक पदाधिकारीले महामन्त्री थापालाई उदृत गर्दै भने, ‘सभापतिको हितका लागि पनि सभापति आफैँले विशेष महाधिवेशन गराइदिनुभयो भने सभापतिज्यू, देश र सिंगो पार्टीलाई पनि यसले फाइदाजनक हुन्छ, हित हुन्छ। विशेष महाधिवेशन नै गरौँ।’

त्यसपछि देउवाले गगनको प्रस्तावसहितको आग्रहको जवाफ दिएका थिए। ‘देउवा म सरसल्लाह गर्छु। ती पदाधिकारीले देउवालाई उदृत गर्दै भने, ‘सल्लाह गरौँला। मिलेर अघि बढौँ। विशेष त हुँदैन। पार्टी फुट्छ। पार्टी फुटेको कसरी हेर्नू। मैले हेर्न सक्दिनँ। सहमति गरौँ न।’

आजको छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक सभागी थिए। छलफलमा लेखकले नियमित महाधिवेशनको कार्यतालिका ल्याउने भन्दै एउटा शर्त प्रस्ताव गरे।

‘नियमितको क्यालेन्डर ल्याऔँ। नियमितको क्यालेन्डर आइसकेपछि विशेषको निवेदन फिर्ता गर्न चाहिँ नपर्ने तर, विशेष हुँदैन भन्ने ग्यारेन्टी चाहिँ हुनुपर्छ’ लेखकले बैठकमा भने। लेखकको प्रस्तावलाई शंका गर्दै दुवै महामन्त्रीले अस्वीकार गरे।

महामन्त्री शर्माले नियमितको हुन्छ पनि भन्ने र विशेष नगर्ने ग्यारेन्टी गर्ने भन्ने प्रस्ताव सही नभएको बताए। ‘नियमितको क्यालेन्डर ल्याएर गर्ने महाधिवेशनको टुंगो हुनुप¥यो,’ महामन्त्री शर्माले बैठकमा भने, ‘अब विशेषबाहेक अरु केही हुँदैन।’

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार २२:२८   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।