Logo

प्रमुख समाचार

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना



काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको यही मंसिर १२ गतेको निर्णयानुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव माहादेव पन्थले सो जिम्मेवारी बहन गरेका छन् ।

उक्त निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईलाई तोकिएको छ ।
समानुपातिक निर्वाचन व्यवस्थापनका लागि कूल ४१ जना कर्मचारी कार्यरत रहनेछन् । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

कार्यालयको उद्घाटन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले समानुपातिक निर्वाचन प्रणालीका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने भएकाले सबै सरोकार भएकालाई सहज हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार ०७:३९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।