Logo

गण्डकी प्रदेश

माथिल्लो मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण



मुस्ताङ । यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङले आज लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका वन्यजन्तु पीडितलाई बैंक खातामा जम्मा हुने गरी क्षतिपूर्तिबापतको राहत रकम प्रदान गरेको हो ।

एक्याप लोमान्थाङले आर्थिक वर्ष २०८१-०८२ मा वन्यजन्तुबाट पशुधनमा भएको क्षति राहत रकम पाउन बाँकी २८  घरधुरीका १०५ वटा पशुधनको क्षति भएकामा सो क्षतिपूर्तिबापतको राहत रकम उपलब्ध गराएको जनाएको छ ।

प्रमुख उमेश पौडेलका अनुसार गत साल छुटेका र गत आवमा वन्यजन्तुबाट भएको पशुधन क्षतिबापत १५ लाख सम्बन्धित पशुधनीहरुको बैंक खातमा राहत रकम दाखिला गरिएको छ ।

एक्याप लोमान्थाङले माथिल्लो मुस्ताङका दुई स्थानीय तहका पशुधनीले पालेका घोडा १६ वटा, च्याङ्ग्रा ६३ वटा, भेडा २१ वटा र याक पाँच वटाको क्षतिबापतको राहत रकम वितरण गरिएको प्रमुख पौडेलले उल्लेख गरे ।

एक्यापका अनुसार गत आवमा क्षति भएकामध्ये ७७ वटा पशुधन हिउँ चितुवाको आक्रमणबाट र २८ वटा जङ्गली ब्वाँसोको आक्रमणबाट क्षति भएको थियो ।

यसैगरी चालु आवको पाँच महिनामा माथिल्लो मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट ४३ वटा पशुधनको क्षति भएको छ । जसमध्ये १९ वटा पशुधन हिउँ चितुवाबाट र २४ वटा पशुधन जङ्गली ब्वाँसोको आक्रमणबाट क्षति भएको एक्यापले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार १९:४३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।