Logo

धर्म / संस्कृति

विसं ०८३ को पञ्चाङ्ग पनि ०८२ सालकै पद्धतिमा प्रकाशन हुने



काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी विसं २०८३ को पञ्चाङ्ग २०८२ सालकै पद्धति र ढाँचा अनुरूप तयार गर्ने निर्णय गरेको छ। पञ्चाङ्गकारहरूको संयुक्त बैठकले विविध प्राविधिक कारणले पञ्चाङ्ग रूजु र छलफल गर्न ढिलाइ भइसकेको भन्दै यस्तो निर्णय लिएको हो।

समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार केतकी ग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न थप समय लाग्ने र विस्तृत छलफल आवश्यक देखिएकाले प्रकाशनमा ढिलाइ हुँदा सेवाग्राहीलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै पुरानै विधिलाई निरन्तरता दिइएको हो।

यसअघि विसं २०८३ को पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्न सूचना जारी गरिएको भए तापनि समयको चापका कारण परम्परागत सौरोक्त पद्धतिमै आधारित रहने निर्णय भएको छ। गत वर्ष पनि नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गमा पञ्चाङ्ग खण्ड सौरोक्त पद्धतिमा आधारित थियो भने अन्य ग्रहहरूको गणना ज्योतिर्गणितम् तथा केतकी ग्रहगणितम्का आधारमा गरिएको थियो।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले सौरोक्त पद्धतिलाई समय सापेक्ष परिमार्जन गर्दै आकाशको वास्तविक ग्रहस्थितिसँग मेल खाने गरी सुधार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त ज्योतिषी विद्वानहरूलाई आमन्त्रण गरेर छलफल कार्य तत्काल अघि बढाउने जानकारी दिए। यस निर्णयले आगामी वर्षको पात्रो समयमै बजारमा आउने सुनिश्चितता गरेको छ भने दीर्घकालीन रूपमा पञ्चाङ्ग सुधारका लागि प्राज्ञिक बहसको बाटो समेत खोलेको छ।

प्रकाशित मिति : २ पुष २०८२, बुधबार ०८:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।