Logo

राजनीति

एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ: महेश बर्तौला



काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् ।

बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए ।

उनले भने, ‘अन्य कयाँै प्रतिवादीहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहान्छ तथापी पनि हामी देशहितको पक्षमा स्वाधिनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिकताको पक्षमा जतिसुकै एकल बनाउन खोजेपनि, जतिसुकै आक्रमणको निशानामा पारे पनि हामी अविचलित ढङगबाट अगाडी बढ्छौ ।’

जतिसुकै एक्ल्याउने प्रयास भए पनि र जति नै आक्रमणको निशानामा पारिए पनि एमाले आफ्नो मूल मार्गबाट विचलित नहुने उनले स्पष्ट गरे ।

एमाले फुटोस् र त्यही आधारमा नयाँ पार्टी निर्माण गरिन्छ भन्नेहरूका सपना कहिल्यै पूरा नहुने बर्तौलाको दाबी छ ।

एमालेले आन्तरिक लोकतान्त्रिक प्रक्रिया आरम्भ गर्नेबित्तिकै प्रतिस्पर्धाको प्रक्रिया सुरु हुने र त्यसलाई पार्टी फुट्ने संकेतका रूपमा बुझ्नेहरू निराश हुने उनले बताए ।

उनका अनुसार आन्तरिक प्रतिस्पर्धा एमालेको नियमित र स्वाभाविक राजनीतिक प्रक्रिया हो। ‘एमाले फुटोस्, एमालेबाट मानिस आइदियोस् त्यस आधारबाट पार्टी बनाउँछु भन्नेहरुको सपना कहिले पुरा हुँदैन । एमालेले आन्तरिक लोकत्रन्त्रको प्रक्रिया आरम्भ गर्ने बित्तिकै प्रतिस्पर्धाको प्रक्रिया आरम्भ हुने बित्तिकै अब पार्टी फुट्छ भन्नेहरु निराश हुनेछन् । एमालेको यो नियमित प्रक्रिया हो,’ उनले भने ।

 

प्रकाशित मिति : २ पुष २०८२, बुधबार १३:३६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।