काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरणका लागि दिइएको समय सकिएको ७ दिनपछि ९ दिन समय थप गर्ने सहमति भएको छ ।
पार्टी केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले नवीकरणका लागि मंसिर २४ गतेसम्मको समय दिएको थियो । त्यो समयमा नसकिने भएपछि क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजकका हैसियतमा महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको निर्णय परिवर्तन गरेर मंसिर मसान्तसम्म सक्ने निर्णय गरेका थिए ।
सोमबार राति बसेको समितिको बैठकले ९ दिन अर्थात पुस ९ गतेसम्म थप गर्ने सहमति भएको हो । समिति सदस्य सीता गुरुङले पुस ९ गतेसम्म सक्न भन्ने सहमति बनेको तर निर्णय नै नभएको बताइन् । ‘९ गते मध्यान्हसम्म सक भन्ने सहमति भएको हो । निर्णय भएको छैन,’ गुरुङले भनिन्, ‘केही जिल्लाबाट अझै आउन बाँकी छ ।’
समिति सदस्य सीता गुरुङका अनुसार नयाँ क्रियाशील सदस्यताको फारम वितरण गर्ने समय पनि पुस १० गतेसम्म राख्ने सहमति समितिमा बनेको छ, यद्यपि निर्णय भने भएको छैन ।
कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको छ ।





















प्रतिक्रिया