Logo

प्रमुख समाचार

निर्धारित मितिमा वडा अधिवेशन नहुँदा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सतहमा



काठमाडौं । नेपाली कांग्रेसको इतिहासमै सबैभन्दा लामो समय चलेको केन्द्रीय समिति बैठकले मंसिर १५ गते सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका आजबाट औपचारिक रूपमा कार्यान्वयनमा जानुपर्ने भए पनि देशभरका कुनै पनि वडामा इकाई अधिवेशन हुन सकेन। यसले आफूलाई लोकतान्त्रिक पार्टी दाबी गर्दै आएको कांग्रेसभित्र गम्भीर व्यवस्थापकीय र राजनीतिक असमञ्जस्यता रहेको तथ्यलाई उजागर गरेको छ।

कांग्रेसको निर्णयअनुसार आज देशभरका ६ हजार ७४३ वडामा एकैसाथ वडा अधिवेशन हुने तय थियो। तर न त कुनै राष्ट्रिय विपद् आयो, न त केन्द्रीय समितिबाट अधिवेशन स्थगित गर्ने औपचारिक निर्णय सार्वजनिक भयो। निर्धारित कार्यक्रम नै कार्यान्वयन हुन नसक्नुले पार्टीभित्रको आन्तरिक विवाद व्यवहारिक रूपमा सतहमा आएको देखिन्छ।

केन्द्रीय समितिले सार्वजनिक गरेको तालिकाअनुसार विदेशस्थित जनसम्पर्क समितिहरूको अधिवेशन पुस १५ गते नै सम्पन्न हुनुपर्ने थियो, तर ती अधिवेशनहरू पनि हुन सकेनन्। यसैगरी वडा अधिवेशनपछि गाउँ/नगर अधिवेशन पुस १७, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ र क्रमशः जिल्ला, प्रदेश तथा केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका थियो। प्रारम्भिक चरणमै अधिवेशन हुन नसकेपछि निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुने सम्भावना न्यून देखिएको छ।

राजनीतिक दल वा संस्थाले निर्धारित कार्यक्रम कार्यान्वयन हुन नसक्ने अवस्था आएमा कारणसहित नयाँ कार्यतालिका सार्वजनिक गर्ने प्रचलन रहे पनि कांग्रेसले यस विषयमा हालसम्म कुनै औपचारिक निर्णय वा स्पष्ट जानकारी सार्वजनिक गरेको छैन। मंसीर १५ यता कार्यसम्पादन समिति र पदाधिकारी बैठकहरू पटक–पटक बसे पनि ती बैठकबाट निस्केका निष्कर्ष सार्वजनिक हुन नसकेको पार्टीभित्रकै नेताहरू स्वीकार्छन्।

यसैबीच कांग्रेसको भातृ संस्था नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सामाजिक सञ्जालमार्फत कांग्रेस नेतृत्वप्रति व्यङ्ग गरेका छन्। उनले वडा अधिवेशनका लागि टोलमा पुग्दा एक जना पनि कांग्रेस कार्यकर्ता नदेखिएको उल्लेख गर्दै केन्द्रीय नेतृत्वको जिम्मेवारीमाथि प्रश्न उठाएका छन्।

पार्टीभित्र नियमित कि विशेष महाधिवेशन भन्ने बहस पछिल्लो समय चर्किए पनि यो विषय लामो समयदेखि उठ्दै आएको नेताहरू बताउँछन्। क्रियाशील सदस्यता नवीकरण र वितरण प्रक्रियामा भएको ढिलाइका कारण अधिवेशन प्रक्रिया अवरुद्ध भएको आरोप पनि कांग्रेसभित्रैबाट उठ्दै आएको छ।

देश निर्वाचनतर्फ उन्मुख भइरहँदा कांग्रेससमेत प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटिसकेको छ। यस्तो अवस्थामा निर्वाचनअघि कि पछि महाधिवेशन गर्ने भन्ने प्रश्न लगभग टुंगो लाग्दै गएको विश्लेषकहरूको भनाइ छ। तर पार्टीभित्रको अन्योल र निर्णयहीनताले संगठनात्मक रूपमा कमजोर सन्देश जाने चिन्ता कार्यकर्ताहरूले व्यक्त गर्न थालेका छन्।

नेतृत्वलाई समयमै दबाब दिनु कार्यकर्ताको अधिकार भए पनि नेतृत्व तहबाटै स्पष्ट दिशा र जिम्मेवारी नदेखिँदा कांग्रेसको आन्तरिक अवस्था थप जटिल बन्दै गएको देखिन्छ। यसले राष्ट्रिय राजनीतिमा प्रमुख भूमिका खेल्ने पार्टीको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार ११:१७   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।