काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरुले कुल ३ हजार ३१६ वटा बीमा दाबीको करिब २३ अर्ब ४७ करोड रुपैयाँ दाबी रकम भुक्तानी गर्नुपर्ने देखिएको छ।
हालसम्म कम्पनीहरुले त्यसमध्ये अग्रिम भुक्तानीसमेत गरी करिब ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बीमितहरुलाई भुक्तानी गरिसकेको अद्यावधिक तथ्यांकक बीमा कम्पनीहरुबाट प्राप्त भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार कम्पनीहरुबाट अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कुल ७१२ वटा दाबीको करिब १९ अर्ब ५ करोड रुपैयाँमध्ये करिब ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ र मोटर बीमातर्फ कुल २ हजार ३२१ वटा दाबीको करिब ३ अर्ब ४६ करोड १६ लाख रुपैयाँमध्ये करिब १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ।
यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ कुल २२६ वटा दाबीको करिब ५५ करोड ३९ लाख रुपैयाँमध्ये करिब ८ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ कुल १२ वटा दाबीको करिब १ करोड ६९ लाख रुपैयाँमध्ये करिब १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ कुल ४५ वटा दाबीको करिब ३८ करोड ४० लाख रुपैयाँमध्ये करिब ५ करोड रुपैयाँ अग्रिम भुक्तानीसमेत दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
पुनर्बीमामा पनि सक्रियता : ३ अर्ब २ करोड अग्रिम भुक्तानी
आन्दोलनबाट प्रभावित बीमा दाबीहरूको भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कुल ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी उपलब्ध गराएको छ। कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त कुल २ हजार ८६३ वटा पुनर्बीमा दाबीहरूको कुल रकम १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको छ।
यो घटनाले नेपालको बीमा क्षेत्रको दक्षता र दायित्व निर्वाह क्षमतालाई उजागर गरेको छ। बीमा प्राधिकरणका अनुसार, बाँकी दाबीहरूको मूल्यांकन र भुक्तानी प्रक्रिया छिट्टै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आन्दोलनबाट प्रभावित व्यक्ति तथा संस्थाहरूले आवश्यक कागजातसहित दाबी दर्ता गर्न प्राधिकरणले आग्रह गरेको छ।




















प्रतिक्रिया