काठमाडौं । झन्डै ६ महिनादेखि रोकिएको नेपाल बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) नियुक्ति प्रक्रिया अधि बढाइएको छ । अर्थ मन्त्रालयका सह सचिव महेश भट्टराई नेतृत्वको सिफारिस समितिको आजको बैठकले बैंकका तीन जना एसिईओ लाई रिक्त डेपुटी सिईओ पदमा सिफारिस गरेको हो ।
समितिले बैंकका एसिईओ प्रकाश अधिकारी, विश्वराज बराल र होम बहादुर खड्कालाई सिफारिस गरेको छ । सम्भवत: आइतबार बस्ने बैंक संचालक समितिले डेपुटी सिईओ नियुक्त गर्नेछ ।
प्राप्त कार्यसम्पादन मुल्यांकन प्रतिवेदनअनुसार योग्यता, अनुभव र प्रस्तुतीकरणका आधारमा अधिकारी र बराल सँगसँगै छन् । तर, मुल्यांकन प्रतिवेदन अंक गणनाअनुसार अधिकारी सबैभन्दा अगाडि देखिएका छन् । खड्का सबैभन्दा पछाडि छन्। जेष्ठताका आधारमा उनी जुनियर हुन् ।
सार्वजनिक मुल्यांकनका आधारमा अधिकारी र बराल दुवैले ३६.६०६ अंक पाएका छन् भने खड्काको अंक जम्मा २९ रहेको छ ।
तर, तीन आर्थिक वर्षमा कार्यसम्पादन मुल्यांकन फारम भर्दै नभरेको र दुई आर्थिक वर्षको समयमै कार्यसम्पादन मुल्यांकन प्रतिवेदन नबुझाएको, आफू मातहतका कर्मचारीको समेत मुल्यांकन प्रतिवेदन पेश नगरेको लगायतका कारण उनको अंक काटिएको छ । जसका कारण बराल अधिकारीभन्दा निकै पछि छन् । यसबाट अधिकारीभन्दा बराल झण्डै १० अंकले पछाडि छन् ।
सिफारिस समितिले तयार पारेको सूची बैंक पठाइ सकिएको र आइतबार बस्ने बैंक सञ्चालक समितिको बैठकमा पेश हुने समितिका एक सदस्यले बताए । बैंकका अध्यक्ष डिल्लीराम शर्मा बाहिर रहेकाले अध्यक्ष आएपछि बस्ने आगामी बैठकले डेपुटी सिईओ नियुक्ति गर्ने सम्भावना रहेको बैंक स्रोतले जनाएको छ ।
यस सम्बन्धमा अध्यक्ष शर्माले सिफारिस समितिबाट नाम सिफारिस भइ आएपछि छिट्टै टुङ्ग्याउने बताएका छन् ।
सरकारी स्वामित्वको नेपाल बैंकमा झन्डै छ महिनादेखि डेपुटी सिईओ पद रिक्त हुँदा निर्णय प्रक्रिया र व्यवस्थापन प्रभावित हुँदै आएको छ । जसका कारण बैंकभित्र र बाहिरबाट समेत चौतर्फी चासो हुन थालेपछि नियुक्ति प्रक्रिया अघि बढाइएको हो । यससम्बन्धमा अनलाइनपाना डटकमले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ ।
सिफारिस समितिले आज गरेको निर्णयसँगै बैंकले अब छिट्टै नयाँ डेपुटी सिईओ पाउने र व्यवस्थापकीय काम कारबाही सक्रिय हुने अपेक्षा गरिएको छ ।




















प्रतिक्रिया