Logo

प्रमुख समाचार

शेखर कोइराला पक्षलाई राष्ट्रियसभा निर्वाचनमा ३ सिट



काठमाडौं । नेपाली कांग्रेसभित्र छुट्टै समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइराला पक्षले राष्ट्रियसभा सदस्य निर्वाचनमा तीन सिट पाएको छ। नेकपा एमालेसँगको चुनावी तालमेलअनुसार कांग्रेसले पाएको नौ सिटमध्ये संस्थापन पक्षले कोइराला समूहलाई तीन सिट दिएको हो।

कोइराला समूहले ती तीन सिटका लागि मधेश प्रदेशबाट रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उम्मेदवार बनाएको छ।

कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वअध्यक्षसमेत रहेका कर्ण अपाङ्गता/अल्पसंख्यक क्लस्टरबाट उम्मेदवार छन्। देवकोटा महिला क्लस्टरबाट र जंगली अपाङ्गता/अल्पसंख्यक क्लस्टरबाट सिफारिसमा परेका हुन्।

कांग्रेसको भागमा परेका बाँकी छ सिटमा भने सभापति शेरबहादुर देउवानिकट नेताहरू सिफारिसमा परेका छन्। राष्ट्रियसभा निर्वाचनका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मानिकट कुनै पनि नेता उम्मेदवारका रूपमा सिफारिस नभएको स्रोतले जनाएको छ।

कांग्रेसबाट कोशी प्रदेशमा सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशमा धर्मेन्द्र पासवान (दलित), गण्डकी प्रदेशमा जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशमा चन्द्रबहादुर केसी (अन्य), कर्णाली प्रदेशमा ललितजंग शाही (अन्य) र सुदूरपश्चिम प्रदेशमा खम्मबहादुर खाती (अन्य) उम्मेदवार रहेका छन्।

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १२:४२   :  बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।