काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू कुनै पार्टीमा आवद्ध नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २९औँ स्थापना दिवसका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री खरेलले आजको दिनसम्म कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नभएको स्पष्ट पारे ।
मन्त्री खरेलले आफु र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रीत रहेको धारणा राखे ।
आफूले निर्वाचनमा उठ्नका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यमहरूले झुटो समाचार सम्प्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गरे । ‘आजको दिन यो मितिसम्म म कुनै पनि पार्टीमा गएको पनि छैन । चुनाव उठछु वा उठ्दिन केही पनि भनेको छैन । तर समाचार अलिकति फरक ढंगले आइरहेको छ । त्यसप्रति मेरो आपत्ति केही पनि छैन । तर सही समाचार चाहिँ आज म तपाईंहरूमार्फत भन्छु– मैले चुनाव उठ्ने अथवा नउठ्ने निर्णय गरेको छैन,’ उनले भने ।





















प्रतिक्रिया