Logo

प्रमुख समाचार

महन्थ ठाकुरले गराए राष्ट्रियसभा उम्मेदवारी दर्ता



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थनमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।

बुधबार जनकपुरस्थित निर्वाचन कार्यालयमा पुगेर ठाकुरले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। ठाकुर महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भइसकेका अनुभवी नेता हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा नेपालबीच गत पुस १४ गते एकता गर्ने निर्णय भएसँगै दुवै दल एकीकृत भएका थिए। एकतापछि जसपा नेपालले ठाकुरलाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाएको हो। जसपा नेपालसँग एकता हुनुअघि ठाकुर लोसपाका अध्यक्ष थिए।

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच चुनावी तालमेल भएको छ। उक्त तालमेलअनुसार राष्ट्रिय सभाका १८ सिटमध्ये नेपाली कांग्रेसलाई ९, नेकपा एमालेले ८ र जसपा नेपालले १ सिट पाउने सहमति भएको छ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १४:५१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।