काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनका नाममा आह्वान गरिएका गतिविधिमा सहभागी नहुन पार्टी पंक्तिलाई निर्देशन दिएको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पार्टी विधानविपरीत हुने यस्ता गतिविधिमा संलग्न नहुन अपिल गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ।’
कांग्रेसले विशेष महाधिवेशन पक्षधरले आगामी पुस २७ र २८ गते आह्वान गरेको भनिएको विशेष महाधिवेशनप्रति असहमति जनाउँदै त्यसमा नजान स्पष्ट निर्देशन दिएको हो।
विज्ञप्तिमा पार्टीको विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कसैलाई नभई केन्द्रीय कार्यसमितिलाई मात्र रहने स्पष्ट पारिएको छ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्वसम्मत् निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन–महाधिवेशनको प्रक्रिया र कार्यक्रमहरू सञ्चालन भइरहेका बेला, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको यथार्थलाई बेवास्ता गर्दै विभिन्न सञ्चारमाध्यममार्फत विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।




















प्रतिक्रिया