काठमाडौं । ताप्लेजुङस्थित पवित्र धार्मिक तीर्थस्थल मुक्कुम्लुङ (पाथीभरा) मा जबर्जस्ति निर्माणा गर्न लागिएको केबुलकार परियोजनाको सत्यतथ्य छानबिनको माग गर्दै कोशी प्रदेशका ‘जेन–जी’ अभियन्ताहरू एकजुट भएका छन् ।
‘द काउन्सिल अफ जेन–जी’ मा आबद्ध १४ जिल्लाका युवा अभियन्ताले संयुक्त वक्तव्य जारी गर्दै केबुलकार निर्माणको विरोध गरेका हुन् ।
वक्तव्यमा उनीहरूले मुक्कुम्लुङलाई आदिवासी समुदायसहित किराँत र हिन्दु सभ्यताका अनुयायीहरूको सांस्कृतिक तथा ऐतिहासिक पहिचानको केन्द्र भएको उल्लेख गर्दै राज्यले संविधानले प्रत्याभूत गरेको मौलिक हक र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरू उल्लङ्घन गरी परियोजना अघि बढाएको आरोप लगाएका छन् । केबुलकार निर्माणको अनुमति प्रक्रिया, जग्गा प्राप्ति तथा खरिद–बिक्री, वन–वातावरण र धार्मिक तथा सांस्कृतिक सम्पदामाथि परेको असरबारे निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ ।

जेन–जी अभियन्ताहरूले आदिवासी जनजातिको अधिकारसम्बन्धी घोषणापत्र–२००७, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का नीतिहरू र संविधानको मौलिक हकको उल्लङ्घन गर्दै परियोजना अघि बढाइएको दाबी गरेका छन् । यस विषयमा सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय निकायमा समेत उजुरी परिसकेको स्मरण गराउँदै दोषीमाथि कारबाहीको माग गरिएको छ ।
वक्तव्यमा स्थानीयको असहमति हुँदाहुँदै राज्यशक्ति र सुरक्षा निकायको बल प्रयोग गरी निर्माण कार्य सुरु गरिएको, विरोधका क्रममा प्रहरी र सशस्त्रको हस्तक्षेपबाट स्थानीय घाइते भएको प्रसंग पनि उल्लेख छ । स्थानीय समुदायको सहमतिबिनाको विकास स्वीकार्य नहुने चेतावनी दिँदै अभियन्ताहरूले केबुलकार निर्माण तत्काल रद्द गरी पवित्र तीर्थस्थलको संरक्षण गर्न सरकारसँग माग गरेका छन् । आठ सूत्रीय मागमध्ये पहिलो बुँदामै केबुलकार निर्माणको अनुमति दिने सरकारको निर्णय फिर्ता लिनुपर्ने उल्लेख गरिएको छ ।
वक्तव्यमा उनीहरूले प्रदेशको नाम ‘कोशी’ स्वीकार्य नभएको जनाउँदै ‘प्रदेश नं. १’ नै प्रयोग गरेका छन् ।
त्यसैगरी केबुलकार निर्माणको विरोधमा पहिचानवादी संघ–संस्था र विभिन्न राजनीतिक दलसम्बद्ध संगठनहरूले आन्दोलन सुरु गरिसकेका छन् । मुक्कुम्लुङ पाङ्सेःप् चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले ताप्लेजुङका विभिन्न स्थानमा गाउँभेला तथा छलफल गरेको जनाएको छ ।
समितिले माघ १२ गते कोशीका सबै जिल्लामा कोणसभा, माघ १४ गते राजमार्ग केन्द्रित विरोध कार्यक्रम र माघ १६ गते शहीद दिवसका दिन फुङलिङमा जनप्रदर्शन गरेको छ। माघ महिनाभर निरन्तर आन्दोलनका कार्यक्रम सञ्चालन हुने आन्दोलन समितिले जनाएको छ ।



















प्रतिक्रिया