काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्।
विशेष महाधिवेशनका कारण कांग्रेस फुट्ने हल्ला निराधार भएको उल्लेख गर्दै यदि त्यस्तो अवस्था आयो भने आफू सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिरिने उनले बताएका छन्।
विशेष महाधिवेशनबारे उठिरहेका प्रश्नको जवाफ दिँदै शर्माले सामाजिक सञ्जालमार्फत पार्टी एकतामा कुनै सम्झौता नहुने धारणा सार्वजनिक गरेका हुन्।
उनका अनुसार जेन–जी आन्दोलनपछिको बदलिएको राजनीतिक परिस्थिति, नयाँ राष्ट्रिय चुनौती र कांग्रेसको भूमिकाका कारण विशेष महाधिवेशन आवश्यक भएको हो।
‘आजको नेपाल भदौ २३ अगाडिको नेपाल होइन,’ भन्दै उनले नयाँ दृष्टि, योजना र संकल्पका लागि विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गरेका छन्।
विशेष महाधिवेशन माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले चलाएको हस्ताक्षर अभियानमा ४० प्रतिशतभन्दा बढीको समर्थन प्राप्त भएकाले कांग्रेस विधानअनुसार विशेष महाधिवेशन गर्नैपर्ने बाध्यता रहेको शर्माको भनाइ छ।
कांग्रेस विधानको धारा १७(२) अनुसार केन्द्रीय समितिले आवश्यक ठानेमा विशेष महाधिवेशन बोलाउन सक्ने र ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको लिखित माग आए तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था रहेको उनले स्मरण गराएका छन्।
हस्ताक्षर नगरेका प्रतिनिधिहरू पनि विशेष महाधिवेशनमा सहभागी हुन पाउने उनले स्पष्ट पारेका छन्। विशेष महाधिवेशनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा नकारात्मक असर नपर्ने र महाधिवेशनपछि निर्वाचनमा जाँदा कांग्रेसले राम्रो परिणाम ल्याउने विश्वास उनले व्यक्त गरेका छन्।





















प्रतिक्रिया