Logo

अनलाइनपाना खोज

अमेरिका घुमेर आएपछि मात्रै राजीनामा दिने अडानमा बब्लु गुप्ता



काठमाडौं। अमेरिका भ्रमण सकेर फर्किएपछि मात्रै राजीनामा दिने तयारीमा रहेका मन्त्री बब्लु गुप्तासहित पार्टी गतिविधिमा सक्रिय मन्त्रीहरूलाई पदबाट हट्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएपछि तीनवटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन्।

मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्री कार्कीले घिसिङ, गुप्ता र जगदीश खरेललाई राजीनामा दिन आग्रह गरेकी थिइन्। सोही निर्देशनपछि घिसिङले तत्काल पद त्यागेका हुन्।

मन्त्री खरेलले भने आफू कुनै पनि दलमा आबद्ध नभएको र चुनावमा उठ्ने योजना पनि नरहेको स्पष्ट पार्दै राजीनामा नदिने अडान लिएका छन्।

यता, मन्त्री गुप्ताले राजनीति नै रोज्ने संकेत गरेका छन्। उनीनिकट स्रोतका अनुसार अमेरिका भ्रमणबाट फर्किएपछि राजीनामा दिने मनस्थितिमा गुप्ता छन्। कुलमानको पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच एकताको सहमति हुँदा गुप्ता पनि सँगै देखिएका थिए।

मन्त्रिपरिषद् बैठकले गुप्ताको अमेरिका भ्रमण स्वीकृत गरिसकेको छ। रातो पासपोर्ट र सरकारी सुविधामा एकपटक अमेरिका पुगेर फर्किएपछि राजीनामा दिने तयारी उनले गरेका हुन्। बैठकले उनलाई आगामी माघ ३ गतेदेखि अमेरिकामा हुने ‘पोष्ट–जेनजी रिभोलुसनपछि नेपालको विकासमा एनआरएनए युवाको भूमिका’ विषयक कार्यक्रममा सहभागी हुन पठाउने निर्णय गरेको छ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार १९:०४   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।