यसअघि पुस १० गते बसेको पार्टीको बैठकले भण्डारीसहित पाँच जनाको नाम सिफारिस गरेको थियो । तर पार्टी केन्द्रको सर्कुलरपछि पुनः छलफलबाट भण्डारीलाई उम्मेदवार बनाइएको न्यौपानेले बताए ।
भण्डारी साविक माओवादीका केन्द्रीय सदस्य तथा कर्णालीका पूर्व कानुनमन्त्री समेत हुन् । उनलाई यसअघि गुमेको माओवादीको साख जोगाउनकै लागि भए पनि एकल सिफारिस गरिएको एक नेताले बताए ।
भण्डारीलाई माओवादी कर्णालीभित्र बौद्धिक नेता र जुम्ला विकासका आर्किटेक्चरका रुपमा चिनिन्छ । उनकै नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत ठुला विकासे आयोजना अघि बढेका छन् ।
तर २०७९ को निर्वाचनमा आउँदा माओवादीले पराजय भोग्यो । जुम्लालाई माओवादीले आफ्नो वर्चस्व रहेको जिल्लाका रुपमा लिन्छ । तर पछिल्लो समय पार्टीभित्रकै आन्तरिक द्वन्द्वका कारण जुम्लामा माओवादी कमजोर बन्दै गएको चुनावी मत परिणामले देखाउँछ ।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भण्डारीले नै २१ हजार १२७ मतसहित चुनाव जितेका थिए । त्यो बेला कांग्रेसले १२ हजार मत पाएको थियो । २०७० मा आउँदा माओवादीका गजेन्द्र महतले कांग्रेसका ललितजंग शाहीसँग हारे ।
२०७४ मा आएर माओवादीले पुनः उनै गजेन्द्रलाई टिकट दियो । भण्डारी प्रदेशतर्फ झरे ।एमालेसहितको गठबन्धनबाट उम्मेदवार बनेका महतले २२ हजार १७३ मत पाएर चुनाव जिते ।
कांग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार १४९ मत पाएका थिए । २०७९ मा आएर माओवादीले आफ्नो विरासत गुमायो । सुरुमा नरेश भण्डारीले नै टिकट पाउने भनेर उनी चुनावी अभियानमै सरिक भइसकेका थिए ।
तर पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण पार्टी केन्द्रले गोमा गौतम कुँवरले टिकट पाइन् । तर उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले झण्डै दोब्बर मतान्तरले पराजित गरे ।
जबकि गोमालाई कांग्रेसको समेत साथ थियो । शाहीले २२ हजार ८१९ मत पाउँदा गोमाले ११ हजार ९५९ मत पाइन् । यो जिल्लामा ६० को दशकपछि एमालेले चुनाव जित्न सकेको छैन ।
कांग्रेस-एमालेबिच प्रतिस्पर्धा हुने जुम्लामा २०७९ मा राप्रपाका शाहीको आवागमनले माओवादी झस्किएको छ । जसकारण अहिले अहिले धेरैजसो नेता, कार्यकर्ताहरुले विरासत फर्काउन भए पनि भण्डारीलाई नै उम्मेदवार बनाएका छन् ।
यद्यपि गुमेको साख फकाउन भने अहिले चुनौती छ । यहाँ एमालेबाट शान्तिलाल महत उम्मेदवार बनेका छन् भने कांग्रेसबाट निवर्तमान सांसद (समानुपातिक) कान्तिका सेजुवाल, जिल्ला सभापति कर्णबहादुर शाही, खड्गबहादुर सेजुवाल र पूर्णप्रसाद आचार्यको नाम सिफारिस गरिएको छ ।
यस्तै राप्रपाबाट पुनः ज्ञानेन्द्र शाही नै एकल सिफारिस भएका छन् । उनी कुनै अन्य निर्वाचन क्षेत्रमा चुनाव लड्न जाने चर्चा छ । अर्कोतर्फ माओवादीबाट नै विभाजन भएर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मनऋषि धितालले चुनाव लड्ने तयारी गरेका छन् ।
उनी बौद्धिक वर्गभित्र परिचित नाम हो । माओवादी सशस्त्र युद्धताका जनादेश पत्रिका चलाएका धिताल पत्रकार हुन् । उनका थुप्रै किताब प्रकाशित छन् । यसरी हेर्दा भण्डारीलाई यसअघि गुमेको साख फर्काउन चुनौती उत्तिकै छ ।
प्रतिक्रिया