Logo

अर्थ

पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स



काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) उल्लेख्य रूपमा बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा विप्रेषण वृद्धि दर ४.७ प्रतिशत मात्र रहेको थियो।

चालु वर्षको मंसिर महिनामा मात्र १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको मंसिरमा यस्तो आप्रवाह १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ थियो।

डलरमा गणना गर्दा पनि विप्रेषण उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा डलरमा विप्रेषण वृद्धि ३.४ प्रतिशत मात्र थियो। यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ खर्ब ०० अर्ब ४३ करोड रुपैयाँ थियो।

राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ७५ हजार ५९१ पुगेको छ। यसैगरी पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ।

अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ३८४ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४२५ थियो।

विप्रेषण आप्रवाहमा आएको तीव्र वृद्धिले देशको बाह्य क्षेत्र सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २५ पुष २०८२, शुक्रबार २०:१९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।