Logo

प्रमुख समाचार

रास्वपाले भावनात्मक नारा प्रयोग गरेर जनतालाई भ्रममा पारेको जेन्जी अभियन्ता सहनीकाे आरोप



काठमाडौं। जेन्जी अभियन्ता कृष्ण मोहन सहनीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट राजनीतिक भिजन बिना नै भावनात्मक नारा प्रयोग गरेर जनतालाई भ्रममा पारिरहेको आरोप लगाएका छन्। उनले रास्वपा जहाँ–जहाँ पुग्छ, त्यहीँ “मधेसको छोरो प्रधानमन्त्री बन्छ” भन्ने नारा अघि सार्दै भोट माग्ने प्रवृत्तिको कडा आलोचना गरेका हुन्।

सहनीका अनुसार कुनै पनि राजनीतिक दलको पहिचान उसको नीति, कार्यक्रम र दीर्घकालीन दृष्टिकोणबाट हुने हो। तर रास्वपाले त्यसको साटो जातीय र क्षेत्रीय भावनालाई प्रयोग गर्दै सस्तो लोकप्रियता खोजिरहेको देखिन्छ। “मधेसको नाम लिएर भोट माग्नु मात्रै भिजन होइन,” उनले भने, “मधेसका जनताको वास्तविक समस्या समाधान गर्ने ठोस योजना र प्रतिबद्धता कहाँ छ?”

उनले रास्वपाले सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र समान अवसरजस्ता आधारभूत मुद्दामा स्पष्ट खाका जनतासामु प्रस्तुत गर्न नसकेको आरोप पनि लगाए। सहनीका अनुसार चुनावी मौसममा मात्र मधेस सम्झिने र त्यसलाई सत्ता पुग्ने भर्‍याङ बनाउने प्रवृत्तिले मधेसको सम्मान होइन, अपमान गरिरहेको छ।

युवाहरूलाई सचेत हुन आग्रह गर्दै सहनीले भावनात्मक नाराभन्दा काम र भिजनका आधारमा दल र नेताको मूल्याङ्कन गर्नुपर्ने बताए। “अबको पुस्ता नारा होइन, नतिजा खोज्छ,” भन्दै उनले रास्वपामाथि कडा टिप्पणी गरे।

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार १३:१४   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।