Logo

अर्थ

नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा निर्वाण चौधरी चयन



काठमाडौं । नबिल बैंक लिमिटेडले ४१औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। साधारणसभा सोमबार तत्कालीन अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

साधारणसभाबाट संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अनिल केशरी शाह निर्विरोध निर्वाचित भएका छन्। यससँगै, साधारणसभापछि बसेको सञ्चालक समितिको ६९९औँ बैठकले सञ्चालक निर्वाणकुमार चौधरीलाई बैंकको नयाँ अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण गरेपछि उनले औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।

बैंकले निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले लगातार दुई कार्यकाल सफलतापूर्वक पूरा गरेको जनाएको छ। उनको नेतृत्वमा नबिल बैंकले दिगो बैंकिङ अभ्यास, डिजिटल रूपान्तरणको विस्तार, सक्षम टिम निर्माण, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)को प्रवर्द्धन तथा मर्जर प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण प्रगति गरेको बैंकको भनाइ छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गरिसकेको छ। प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ करोड कित्ता रहेको उक्त पुँजी उपकरणमार्फत अतिरिक्त प्राथमिक पुँजी बलियो भई जोखिम वहन क्षमता बढ्ने र व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ।

हाल नबिल बैंकले देशभर २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले दिगो बैंकिङलाई प्राथमिकतामा राख्दै डिजिटल बैंकिङ सेवा ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ।

प्रकाशित मिति : २९ पुष २०८२, मंगलवार १०:४२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।