काठमाडौं । माघको चिसो बिहान शहर र बस्ती निदाइरहेकै बेला थारु बस्तीहरूमा भने नयाँ उमंगको सुरु हुन्छ ।
बिहान ४ बज्न नपाउँदै नदी, खोल्सा, पोखरीतिर स्नानका लागि लाग्ने भीड देखिन्छ । अनि अनुहारमा नयाँ वर्षको आशा भरिन्छ र माघी अर्थात थारु समुदायको नयाँ वर्ष प्रारम्भ हुन्छ ।
थारु समुदायका लागि माघी केवल एक पर्व होइन, यो सामूहिक स्मृति, सामाजिक पुनर्संयोजन र आत्मपहिचानको दिन हो । पश्चिम दाङदेखि कञ्चनपुरसम्म र पूर्वी तराईसम्म फरक–फरक नाम र परम्परामा मनाइए पनि माघीको आत्मा एउटै छ– ‘दुःख बिर्सेर नयाँ सुरुवात गर्ने ।’
थारु माघी महोत्सव २०८२ का आयोजक नन्दुराज चौधरीका अनुसार माघ १ गते बिहानै माघी स्नान अर्थात ‘माघ लहान’ गर्ने परम्पराले शारीरिक मात्र होइन, आत्मिक शुद्धताको अर्थ पनि बोकेको हुन्छ ।
माघीको दिन स्नानपछि घर फर्केर ‘निस्राउ’ छुट्याइन्छ । निस्राउमा चामल, दाल, नुन, बेसार, तरकारी र गक्षअनुसार दानदक्षिणा हुन्छन् ।
चौधरीका अनुसार निस्राउ छोएपछि ठूलाबडासँग ढोग–सलाम गरी आशीर्वाद लिने चलन छ, जसले पुस्ताबीचको सम्बन्धलाई बलियो बनाउँछ । छोरीबेटीका लागि कपडा छुट्याउने परम्परा रहेको र त्यसले माइती र चेलीको नाता अझै जीवित राख्छे उनले बताए ।
माघीमा हरेक घरमा घिक्री, घोंगी, सोरिकशिखर, खिचरीजस्ता परिकार पाक्छन्। पश्चिम तराईमा करिब १५ दिनसम्म मघौटा, धमाहा, झुम्रा जस्ता नाचगानले गाउँ भरिने उनले बताए ।
‘हरेक घरमा पकवान घिक्री, घोंगी, सोरिकशिखर लगायत विभिन्न पकवानहरु हुन्छन् । त्यो सेवन गर्ने गराउने गर्छौं। हाम्रो पश्चिमतिर १५ दिनसम्म मनाइन्छ ।
नाचगान गरेर मघौटा, धमाहा लगायत गीतहरु गाएर घरघरमा जसरी देउसीभैलो खोलिन्छ त्यसैगरी घरघरमा गएर खेल्ने चलन पनि छ,’ उनले भने ।
पूर्वी तराईमा तिल र मुरीको प्रयोग, परिधान र संस्कारमा केही फरक भए पनि पर्वको मर्म उही मेलमिलाप र नयाँ आशा रहेको उनको भनाई छ ।
उनले भने, ‘पूर्वतिर तिल, अलिकति मुरैहरु खानुहुन्छ । परिकार वा संस्कारमा पनि सबैतिर लगभग उही प्रक्रिया हो, तर मनाउने चलन फरक छ ।’
माघी थारु समुदायका लागि नयाँ वर्ष मात्र होइन, नयाँ नेतृत्व चयनको समय पनि भएको उनले बताए । थारु समुदायमा परम्परागत ‘बरघर प्रणाली’मार्फत गाउँको नेतृत्व छनोट गरिन्छ ।
पश्चिम नेपालका दाङ्ग, सुर्खेत, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका थारू समुदायमा बरघर प्रणाली प्रचलित छ ।
बरघर प्रणालीका कारण यी जिल्लाका थारू समुदायमा बाटो, कुलो, बाँध निर्माण र मर्मत सम्भार गर्न सरकारी बजेटको मुख नताकेर जनश्रमदानबाट काम सम्पन्न गर्ने चलन बसेको छ ।
जसले निस्वार्थ सेवा भावले काम गरिन्छ, पारिश्रमिक लिइदैन । उनले भने, ‘जो अगुवा हुनुहुन्छ, उहाँले समाजप्रति सेवा गर्नुहुन्छ । उहाँहरूले समाजप्रति गर्ने काम निष्पक्ष रूपले गर्नुहुन्छ । सामुदायिक हिसाबले चुन्छौं ।’
तर पछिल्लो समय पहाडबाट बसाइसरी आउने प्रचलन बढेसँगै ‘बरघर’ प्रणालीमा परिवर्तन आएको चौधरी बताउँछन् ।
उनका अनुसार थारु बस्तीहरूमा पहाडीयाहरुको बाहुल्यता बढ्दो छ, जसले थारु समुदाय सीमित भइरहेको छ । बरघर प्रणालीमा समेत राजनीति छिराउन खोजिएको र पारिश्रमिक पनि माग गर्ने कुरा अमान्य हुने उनले बताए ।
‘पहाडबाट आएकाहरुले गर्दा नयाँ बस्तीहरू बढ्दैछन्, थारू समूदाय भन्दा अन्यको बाहुल्यता बढ्दै छ । हामी सीमित भइरहेको अवस्थामा बरघर सिस्टम राजनीति छिर्न खोज्दैछ,’ उनले थप भने, ‘त्यसमा हाम्रो आपत्ति छ, उहाँहरूले पनि अगुवाइ गर्न खोजिराख्नुभएको छ समाजमा । राजनीतिक तरिकाले चलाउन खोज्नुहुन्छ ।’ उनले आफ्नो समुदाय सरकारी प्रणाली भन्दा भिन्न तरिकाले चलाउँने पनि बताए ।
आधुनिकता, बसाइँसराइ र नयाँ पुस्ताको जीवनशैलीसँगै थारु समुदायको सांस्कृतिक निरन्तरता चुनौतीमा परेको छ । यही सन्दर्भमा थारु माघी महोत्सव जस्ता पर्वहरू पुस्तान्तरणका सेतु बनेको चौधरीले बताए ।
संस्कृतिलाई व्यावसायिक र पर्यटनसँग जोड्न सके पहिचान जोगिनुका साथै विकास पनि हुने उनको भनाइ छ ।




















प्रतिक्रिया