Logo

समाचार

महानगर छाडेर मात्रै ‘घण्टीघर’तिर लाग्नेछन् बालेन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिँदैछन् ।

स्थानीय तहको नेतृत्व सम्हाल्दै आएका बालेन अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत संसदीय राजनीतिमा प्रवेश गर्न लागेका हुन् । उनी रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नेछन् ।

मेयर पदमा रहँदाको स्वतन्त्र छविलाई कायम राख्न उनले आगामी माघ ४ गते औपचारिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन् । रास्वपाको वरिष्ठ नेताको रुपमा सहमति गरेपनि उनी अहिलेसम्म पार्टीको कार्यक्रममा सहभागी भएका छैनन् ।

राजीनामा दिएलगत्तै उनी रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टीघर’ जाने र पार्टीको चुनावी अभियानमा सक्रिय हुने स्रोतले जनाएको छ ।

घ ५ : मधेस यात्रा (जनकपुर)

राजनीतिक यात्राको सुरुवाती चरणमा बालेनले मधेस प्रदेशलाई प्राथमिकतामा राखेका छन् । माघ ५ गते हवाईमार्ग हुँदै उनी जनकपुर पुग्नेछन् । जनकपुरमा आयोजना हुने दुईवटा कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसमध्ये एउटा चुनावी सभा हुनसक्नेछ । यस भ्रमणलाई मधेसमा रास्वपा र बालेनको क्रेज मापन गर्ने कडीका रूपमा हेरिएको रास्वपा स्रोतले जनाएको छ ।

माघ ६ : झापा–५ मा उम्मेदवारी दर्ता

जनकपुरको कार्यक्रम सकेर बालेन सडकमार्ग हुँदै झापा प्रस्थान गर्नेछन् । माघ ६ गते उनले झापा क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यतालिका छ ।

सोही दिनदेखि झापामा बालेनको सम्पर्क कार्यालय सञ्चालनमा ल्याइनेछ । झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेकाले बालेनको यो कदमलाई नेपाली राजनीतिमा निकै चासोका साथ हेरिएको छ ।

बालेनले सम्पर्क कार्यालय र आफू बस्ने तथा सचिवालय राख्नेगरी दुईवटा कार्यालय खोल्ने तयारी गरेका छन् ।

माघ ७ : घरदैलो र चुनावी प्रचार

उम्मेदवारी दर्ता र कार्यालय स्थापनापछि माघ ७ गतेदेखि बालेन पूर्णरूपमा चुनावी प्रचारप्रसारमा होमिनेछन् । उनले झापाका विभिन्न टोल र बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्ने र आफ्नो एजेण्डा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

‘उहाँले झापा मात्रै होइन झापा सहित विभिन्न जिल्लामा लैजाने प्रयास हुन्छ । समयको आधारमा कति सम्भव हुन्छ । त्यो त हेर्न बाँकी छ । तर उहाँलाई जति धेरै निर्वाचन क्षेत्रमा पुर्‍यायो, घण्टीमा त्यति धेरै मत खस्ने आंकलन गरिएको छ,’ उनी निकट स्रोतले भन्यो ।

झापापछि मधेस र सुदुरपश्चिममा पनि बालेन पुग्ने

स्रोतका अनुसार बालेनले पहिलो चरण झापामा एक-दुई दिन कार्यक्रमहरूमा सहभागिता जनाउनेछन् । त्यसपछि उनी सुदूरपश्चिमका दुई जिल्ला जान सक्ने कार्यक्रम छ । यद्यपि त्यो निश्चित भइसकेको छैन ।

‘झापामा सचिवालयको कार्यालय र स्थानीय नेताहरुसँग एक चरणको रिपोर्टिङ हुन्छ । त्यसपछि मधेसमा पनि एक-दुई दिन चुनावी अभियानमा लैजान सकिन्छ भनेर समय मिलाइरहेका छौं,’ उनी निकट स्रोत भन्छ ।

बालेनलाई सुदूरपश्चिमका दुई जिल्लामा जानैपर्ने दबाब देखिएको पनि निकट स्रोतहरुको दाबी छ । उनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले लड्न लागेको अछाम-२ मा र अभियन्ता सागर ढकाल लड्ने डडेल्धुरामा उनी जसरी पनि उपस्थित हुने तयारी गरिएको छ ।

‘दुई क्षेत्रमा जसरी पनि जाने कुरा छ, यस्तै रुपन्देही-३ मा चुनावी तयारी गरेका उनका सचिवालय सदस्य सन्तोष गिरी उठ्ने क्षेत्रमा पनि बालेन पुग्ने भएका छन्,’ उनी निकट स्रोत भन्छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार १७:५७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।