Logo

प्रमुख समाचार

जिल्लामै फ्लप जयराम गगनका केन्द्रीय सदस्य



मकवानपुर । मकवानपुरका जयराम लामिछाने नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । गगनकुमार थापा नेतृत्वको समूहबाट उनी खुलातर्फ सर्वसम्मत रूपमा चयन भएका हुन् ।

थाहा नगरपालिका–९ का का लामिछाने पहिलो पटक पार्टीको केन्द्रीय तहको महत्त्वपूर्ण जिम्मेवारीमा पुगेका हुन् । लामो समयदेखि मकवानपुरको उत्तरी क्षेत्रमा कांग्रेस संगठन विस्तार, विकास निर्माण र सामाजिक गतिविधिमा सक्रिय उनी स्थानीय राजनीतिमा परिचित अनुहार मानिन्छन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका लामिछाने तेस्रो स्थानमा सीमित भएका थिए । त्यसपछि उनले प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा भाग लिएका छैनन् ।

२०७८ मा सम्पन्न मकवानपुर कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवार बने पनि पहिलो चरणमै पराजित भएका थिए । उक्त अधिवेशनमा संस्थापन पक्षका बुद्ध लामा र आनन्द पराजुलीसँग उनको प्रतिस्पर्धा भएको थियो ।

यसअघि दुई कार्यकाल जिल्ला सदस्य रहेका लामिछाने तत्कालीन सभापति इन्द्रबहादुर बानियाँको कार्यकालमा मनोनित सदस्यसमेत बनेका थिए । पछि बानियाँसँग राजनीतिक दूरी बढेपछि उनी इतर समूहमा खुलेर लागे र सभापतिमा चुनौती दिएका थिए । निर्माण व्यवसायी पृष्ठभूमिका उनी नेपाल निर्माण व्यवसायी संघका पूर्वअध्यक्षसमेत हुन् ।

विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी लामिछानेले गगन थापाको अभियानलाई साथ दिएका थिए। सोही राजनीतिक समीकरणका कारण उनी यसपटक केन्द्रीय सदस्यको जिम्मेवारीमा पुग्न सफल भएका हुन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार ०६:४५   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।