काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो पटक पनि अदालतबाट दोषी ठहर भएका तथा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा खेपिरहेका व्यक्ति उम्मेदवार बनेका छन् ।
चुनाव जिते स्वतः सांसद पद निलम्बन भएर संसद् छिर्नै नपाउने अवस्थाका व्यक्तिहरूलाई राजनीतिक दलहरूले उम्मेदवार बनाएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट रौतहट–१ मा उम्मेदवार बनेका माधवकुमार नेपाल पतञ्जलि जग्गा भ्रष्टाचार प्रकरणमा मुद्दा खेपिरहेका प्रतिवादी हुन् ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ जेठमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो । विशेष अदालतले ११ असारमा तोकेको ३५ लाख धरौटी बुझाएर नेपाल छुटेका थिए ।
यो मुद्दा किनारा लाग्न भने बाँकी छ । भ्रष्टाचार मुद्दा लागेका सार्वजनिक ओहदाका व्यक्ति स्वतः निलम्बन हुने भ्रष्टाचार निवारण ऐन–२०५९ मा उल्लेख छ । नेपाल चुनावमा विजयी हुँदा मुद्दा कायम रहिरहे संसद् छिर्न पाउँदैनन् ।
कांग्रेसबाट मनाङमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामै विशेष अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले उनै गुरुङलाई पार्टीबाट उम्मेदवार बनाएका छन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को स्वामित्वमा रहेको जग्गा भाडा प्रकरणमा अख्तियारले २१ माघ २०७५ मा गुरुङसहितका प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले १६ फागुन २०७९ मा गुरुङलाई दोषी ठहर गरेको थियो, २५ फागुनमा १ करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ जरिवाना हुने निर्णय सुनाइएको थियो ।
अभियोगपत्रमा उल्लेख भएअनुसार सजाय नभएपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । यो मुद्दा अझै विचाराधीन छ ।
मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसले गुरुङलाई उम्मेदवार बनाएको थियो ।
त्यतिबेला उनी विजयी भए पनि मुद्दाकै कारण संसद् छिर्न पाएका थिएनन् । पछि सर्वोच्च अदालतबाट आदेश गराएर संसद् छिरेका थिए । विशेष अदालतबाट दोषी ठहर भएका कारण अब पनि निर्वाचित भइहाले उनी संसद् छिर्न पाउँदैनन् ।





















प्रतिक्रिया