काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर तिवारीले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्दै पार्टी पंक्तिलाई एकताबद्ध भएर निर्वाचन अभियानमा लाग्न अपिल गरेका छन् ।
माघ ६ गते देशभर शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा उम्मेदवारहरूको मनोनयन सम्पन्न भएको उल्लेख गर्दै तिवारीले भदौ २३/२४ को ‘जेन्जी आन्दोलन’ पछि हुन लागेको यस निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा चित्रण गरेका छन् ।
उनले आफूलाई सांसदको उम्मेदवारका रूपमा देख्न चाहने शुभेच्छुकप्रति आभार व्यक्त गर्दै प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवारीभन्दा पनि कांग्रेस परिवर्तन र देश परिवर्तनको दीर्घकालीन लक्ष्य महत्वपूर्ण रहेको बताएका छन् । कांग्रेस परिवर्तनको संकल्प जेन्जी आन्दोलनपछि अझ सशक्त बनेको दाबी गर्दै उनले पुस २७ देखि माघ ६ सम्मको समय नेपाली राजनीतिक इतिहासका निर्णायक क्षणका रूपमा स्मरण गरिने बताए ।
विशेष अधिवेशनमार्फत नेतृत्व परिवर्तन हुनु सामान्य घटना नभएको उल्लेख गर्दै तिवारीले सभापति गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ जोश, उमंग र संकल्पका साथ निर्वाचनमा होमिएको बताए । टिकट वितरणका क्रममा देखिएका असन्तुष्टि र विवादलाई बिर्सेर पार्टी एकतामा जोड दिन आग्रह गर्दै उनले ७२ घण्टाभित्र १६५ निर्वाचन क्षेत्रमा सन्तुलन मिलाएर उम्मेदवार टुंग्याउनु असामान्य उपलब्धि भएको बताए ।
गणतन्त्रपछि पहिलो पटक सबै १६५ निर्वाचन क्षेत्रमा रुख चुनाव चिह्नमा कांग्रेसका उम्मेदवार खडा भएकोले समानुपातिकतर्फको कमजोर परिणाम सुधार हुने विश्वास उनले व्यक्त गरे ।
तिवारीले कांग्रेसका आधिकारिक उम्मेदवारलाई प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटमा विजयी गराउन सबै कार्यकर्तालाई अभियानमा जुट्न आग्रह गर्दै फागुन २१ गते कांग्रेस संसदको पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।





















प्रतिक्रिया