काठमाडौँ । थापाथलीको ‘द ब्रिटिश कलेज’ मा अखिल (क्रान्तिकारी) ले कलेजको मुख्य गेटमा कालो ब्यानर टाँगेको छ ।
ट्रेड टावरको बिजनेस कम्प्लेक्सभित्र सञ्चालित द ब्रिटिस कलेजको मुख्य गेटमा अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले कालो ब्यानर टाँगेका हुन् ।
मापदण्ड विपरीत सञ्चालित ‘द ब्रिटिश कलेज’ ले इन्टर्नका नाममा विद्यार्थीहरूलाई दुबई लगेर अलपत्र पारेको, भर्ना र फीमा चर्को रकम असुलेको, मानव तस्करीको काम गरेको, कर छली गरेको लगायतका आरोप लगाउँदै अखिल (क्रान्तिकारी) ले कालो ब्यानर टाँगेको हो ।
विदेशी सम्बन्धन प्राप्त थापाथलीको द ब्रिटिश कलेज लगायत थापागाउँको प्रेसिडेन्सियल, मैतीदेवीको सफ्टवेरिका र लर्ड बुद्ध,
कमलपोखरीको इस्लिङ्टन, तीनकुनेको आइएसएमटी लगायतका कलेजहरूमा साङ्केतिक रूपमा कालो ब्यानर टाँगेको छ ।
सङ्गठनले कालो ब्यानर टाँग्दै ‘शैक्षिक माफियाविरुद्ध विरोधका कार्यक्रमहरू थालेको घोषणा गरेको छ । सङ्गठनले विदेशी विश्व विद्यालय सम्बन्धन प्राप्त कलेजहरूले अवैधानिक रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको,
विद्यार्थीबाट चर्को रकम असुलेको, इन्टर्नका नाम विदेश लगेर विद्यार्थीलाई अलपत्र पारेको, नक्कली सर्टिफिकेट प्रदान गरेको जस्ता आरोप लगाएको छ ।
‘विदेशी विश्वविद्यालयको नाममा सञ्चालित यस्ता कलेजहरूले विद्यार्थीमाथिको ठगी, शोषण र लुटपाट तत्काल नरोके यसको मूल्य महँगो पर्छ ।’
अखिल (क्रान्तिकारी) का अध्यक्ष वीरेन्द्र शाहले भने ‘पीडित विद्यार्थी सम्मिलित उच्च स्तरीय छानबिन कमिटी बन्नुपर्छ ।’
विदेशी शिक्षण संस्थाको सञ्चालनसम्बन्धी अवैध निर्देशिका खारेज हुनुपर्ने, विदेशी कलेजका आपराधिक गतिविधि छानबिन हुनुपर्ने, विद्यार्थीमाथि हुने ठगी र शोषण बन्द हुनुपर्ने,
मापदण्ड विपरीत सञ्चालित सम्पूर्ण विदेशी सम्बन्धन प्राप्त कलेज खारेज हुनुपर्ने लगायतका माग राख्दै अखिल (क्रान्तिकारी) ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ नै अवैधानिक छ, यो खारेज हुनुपर्छ,’ अखिल (क्रान्तिकारी) का सचिव डिबि शाहीले भने ।यो समाचार रातोपार्टीमा छ।


















प्रतिक्रिया