काठमाडौं । बलिउडका सुप्रसिद्ध तथा सात पटक आईफा अवार्ड विजेता गायक साहिद मालया यही आउँदो फेब्रुअरी ६ (शुक्रबार)का दिन काठमाडौंमा लाइभ सांगीतिक प्रस्तुतिका लागि नेपाल आउने भएका छन्। भ्यालेन्टाइन महिनालाई लक्षित गर्दै आयोजना हुन लागेको उक्त कार्यक्रममा साहिद मालयाले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।
एल एण्ड एल एजेन्सीको आयोजनामा हुन लागेको यस कार्यक्रमलाई लिएर व्यापक तयारी भइरहेको एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले जानकारी दिएका छन्। उनका अनुसार नेपाली संगीतप्रेमीहरू साहिद मालयाको लाइभ प्रस्तुति हेर्न उत्सुकतापूर्वक प्रतीक्षामा छन्। “यो कार्यक्रम फेब्रुअरी ६ को सबैभन्दा प्रत्याशित इभेन्ट बन्नेछ। साहिद मालयाले आफ्नो सनसनीपूर्ण संगीतले मञ्च प्रतिध्वनित गर्नेमा म पूर्ण विश्वस्त छु,” कायस्थले भने।
समकालीन बीट र परम्परागत भारतीय धुनको उत्कृष्ट फ्युजनका लागि परिचित साहिद मालयाको अद्वितीय शैलीले दर्शकलाई भव्य सांगीतिक अनुभव दिने आयोजकको दाबी छ।
विश्वस्तरीय इभेन्ट व्यवस्थापनमा परिचित एल एण्ड एल एजेन्सीले यसअघि पनि नेपालमा ६ सयभन्दा बढी उल्लेखनीय कार्यक्रमहरू आयोजना गरिसकेको छ। एजेन्सीले यसअघि बलिउड संगीतकार तथा गायक तेरा भाइ जेडबी, बम्बे वाइकिङ्स, विनीत सिंह तथा र्यापर मेलो डीलाई नेपाली दर्शकमाझ प्रस्तुत गरिसकेको छ।
को हुन् साहिद मालया?
बलिउडका सबैभन्दा खोजिने गायकहरूमध्ये एक साहिद मालया सुमधुर गायनका कारण युवा पुस्तामाझ अत्यन्त लोकप्रिय छन्। ‘कुडमाही के दिन आ गए’, ‘रब्बा मैन तो मर गया होई’, ‘एक कुडी’, ‘दो धारी तलवार’, ‘बिखरने का मुझको शौक है बड़ा’ जस्ता हिट गीतमार्फत उनले अन्तर्राष्ट्रिय स्तरमा ठूलो फ्यान बेस बनाएका छन्। हालै उनले नेपाली परिवेश झल्किने गीतहरूमार्फत पनि चर्चा बटुल्दै आएका छन्।
आयोजकका अनुसार साहिद मालयाको ‘लाइभ इन नेपाल’ सांगीतिक प्रस्तुति ठमेलस्थित XO क्लबमा हुनेछ। कार्यक्रमका टिकटहरू बजार तथा टिकटिङ नेटवर्कमार्फत बिक्री वितरण भइरहेको आयोजक टिमका बिजु श्रेष्ठ र सानु खानले जानकारी दिएका छन्।





















प्रतिक्रिया